संसद पुनःस्थापनाविना चुनाव गर्न खोजे रक्तपात हुन्छः सुजाता कोइराला
काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव गर्न खोजे रक्तपात हुने बताएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताइन् ।
सभापति शेरबहादुर देउवा संविधानको विपक्षमा उभिएर गम्भीर गल्ती गरिरहेको कोइरालाको टिप्पणी थियो ।
असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उनले बताइन् ।
उनले देउवाको पछिल्लो गतिविधिमाथि केन्द्रीय कमिटी बैठकमा कुरा उठ्ने समेत बताइन् । ‘शेरबहादुर देउवाजी किन संविधानको पक्षमा हुनुहुन्न ? ओलीको किन पछि लागिरहनुभएको छ आश्चर्य लागेको छ,’ पूर्व उपप्रधानमन्त्री समेत रहेकी कोइरालाले भनिन्, ‘रक्तपात हुनसक्ने चुनावको कुरा गर्दै हुनुहुन्छ ।
तर, आफैंले ल्याएको संविधान र संसदको विपक्षमा किन बोलिराख्नुभएको छ, त्यो गलत हो ।’ देशमा अर्को रक्तपात ल्याउने अवस्था आइरहँदा देउवाले बारम्बार चुनावको कुरा गरेको भन्दै उनले आपत्ति जनाइन् । उनले भनिन्, ‘चुनावमा रक्तपात हुन्छ । देउवाजी ओलीको पक्षमा उभिएर मुलुकलाई रक्तपात र अस्थिरतामा नलानुहोस् ।’
उनले भनिन्, ‘संसद विना देशलाई अगाडि बढाउन खोजे यस्तो अवस्था आउँछ कल्पना पनि गर्न सक्नुहुन्न ।’ चुनावको विपक्षमा आफूहरु नभएको तर त्यसका लागि संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको उनले बताइन् ।
संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्नुपर्ने उनको जोड थियो । उनले काँग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलनमा गइसकेको बताइन् । संसद पुनःस्थापना विना काँग्रेस चुनावमा नजाने पनि स्पष्ट पारिन् । उनले भनिन्,‘आन्दोलनमा गएर भएपनि संसद पुनःस्थापना गर्छौं ।’ आफूहरुले अदालतको फैसला पर्खिरहेको समेत कोइरालाले बताइन् ।