श्रीमतीलाई झुम्के बुलाकी हैन शिवजीलाई सुन दिएँ त के भयो ? : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा सुनको जलहरी बनाउन सरकारले दिएको ३० करोड रुपैयाँको बचाउन गरेका छन् ।
उनले आफ्नो ब्यक्तिगत प्रयोगका लागि नभई पशुपतिनाथलाई दिएकोमा आलोचना गर्नुको अर्थ नभएको बताएका हुन् । मंगलबार झापामा गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘कसैलाई भ्रष्टाचार गर्न दिएको त हैन नी ।
पशुपतिनाथलाई दिएको हो । मैले श्रीमतीलाई कुण्डली, तिलहरी झुम्के बुलाकी हालिदिएको हैन, शिवजीलाई दिएको हो १ सय ८ किलो ।’
उनले आफूले प्रधानमन्त्रीको नेतृत्व गरेपछि ठूला–ठूला पूर्वाधारका काम गरेको दावी गरे । आफ्नो काम देखेर आफूलाई रोक्न खोज्नेहरू बढेको उल्लेख गरे । उनले भने– ‘लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल अब तयार हुन लागेको छ ।
लुम्बिनीमा हामीले सभा गर्न जाँदा सभा गर्ने ठाउँ नै थिए । विदेशीहरु बोलाएको थियो, अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो । भरे त जुत्ता हिलोमा अड्किने, सुरुवाल माथि सार्नुपर्ने, त्यस्तो हिलोमा पो परियो । त्यसपछि मैले भने २ वर्षभित्र ५ हजार क्षमताको हल बनाउँछु ।
यसले त देश बनाउने भो रोक्नुपर्छ । यसले त देश माथि उठाउने भो हटाउनुपर्छ भनेर हटाए । म नेपाली जनताप्रति कृतज्ञ छु, उहाँहरुले फेरि मलाई जिताएर प्रधानमन्त्री बनाउनुभयो ।’
प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएपछि धेरै हवाई मैदानहरु बनाएको उल्लेख गरे । उनले युगान्तकारी काम गर्दै एउटा युगको सुरुवात गरेको दावी गरे ।