शिवरात्रिको सम्पूर्ण तयारी पूरा, मास्कबिना प्रवेश गर्न नपाइने
पशुपतिमा शिवरात्रिको लागि सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोषले आज मंगलबार शिवरात्रिको तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलन गरी दिएको हो। कोषले शिवरात्रिमा करिब सातदेखि आठ लाखको दर्शनार्थी आउने अनुमान गरेको छ ।
पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ। मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, पश्चिमी ढोकाबाट एक लाइन र दक्षिणी ढोकाबाट दुई लाइन गरी चारवटा दर्शन लाइन बाहिरबाट रहने जनाइएको छ ।
सुरक्षाका लागि १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी रहेको जनाइएको छ । जसमध्य सात हजार नेपाल प्रहरी तीन हजार सशस्त्र प्रहरी हुनेछन्।
नेपाल स्काउटका समेत गरी करिब चार हजार स्वयंसेवक पनि परिचालन हुने कोषले जनाएको छ ।
कोरोना भाइरसको महामारीलाई नियन्त्रणका लागि पशुपति दर्शन गर्दा कोषले मास्क अनिवार्य गरेको छ। मास्कविना भक्तजनलाई मन्दिर प्रवेशमा निषेध गरेको छ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ३० वटा संस्थाहरूले सेवा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। मन्दिरनजिकै डाक्टर, नर्ससहितको औषधी र बेडसहितको शिविर नेपाली सेनाको रहनेछ। आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था गरिएको बताइएको छ ।
कोषका अनुसार शिवरात्रिमा साधु सन्त तीन हजारदेखि ३५ सयको सङ्ख्यामा आउन सक्नेछन्। पैसा तिरेर पूजा गरिने व्यवस्था बन्द गरिने कोषले जनाएको छ।
पूजा गर्न भित्र जाने पासको व्यवस्था पनि छैन।