‘वैशाखमा निर्वाचन नगरेर आलटाल गरियो भने आन्दोलनको आँधिबेरी आउँछ: प्रकाशशरण महत
३ माघ, काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वैशाखमा निर्वाचन हुनुपर्ने बताएका छन्। संसद् विघटनविरुद्ध काँग्रेसको ललितपुर महानगरपालिका समितिले आयोजना गरेको विरोधसभामा महतले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेको अवस्थामा कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुनुपर्ने बताए ।
उनले भने, ‘वैशाखमा निर्वाचन नगरेर आलटाल गरियो भने आन्दोलनको आँधिबेरी आउँछ र केपी ओली नेतृत्वको सरकारलाई हटाइन्छ।’ उनले ढिलोचाँडो निर्वाचन हुने भन्दै त्यसको तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।
‘पुनर्स्थापना भयो भने दुई वर्षपछि र विघटन सदर भयो भने तत्कालै निर्वाचन हुन्छ। निर्वाचन जहिले होस्, हामी तयारीमा जुट्नुपर्छ । तर सत्ता लम्बाउने खेलमा सरकार लाग्यो भने आन्दोलन गर्न समेत तयार हुनुपर्छ,’ महतले भने ।
उनले काँग्रेसले संसद चाहेको बताए । ‘पुनर्स्थापनामार्फत् वा निर्वाचनमार्फत् होस् हामीलाई जसरी पनि संसद चाहिन्छ,’ उनले भने। उनले राज्यको स्रोतसाधन सरकारले आफ्नो स्वार्थका लागि प्रयोग गरेको भन्दै अलोचनासमेत गरे।