राजावादीसँग मिलेर मलाई सिध्याउने ओलीको एकमात्र मिसन : प्रचण्ड
९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगत तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको स्वीकार गर्दै आत्मालोचना गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामात्र नभई यो संविधान र शान्ति प्रकृयालाई नै विघटन गर्न खोजेको प्रस्ट पारे ।
केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भयो भने देश बर्बादीतर्फ जाने उल्लेख गर्दै प्रचण्डले अराजकताको साक्षी कोही पनि नबन्ने विश्वास आफूले लिएको बताए ।
प्रधानमन्त्री ओलीलाई ‘उल्टो खोपडीको मान्छे’ संज्ञा दिँदै प्रचण्डले भने, ‘संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ, ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि वाम गठबन्धन बनाएर झण्डै दुई तिहाई बहुमत हासिल गरेपछि देशको आर्थिक विकासमा केन्द्रित हुने गरी पार्टी एकता गरिएको तर यस अवधिमा आफूहरुले केपी ओलीका गलत कृयाकलाप र स्वेच्छाचारी प्रवृत्तिलाई रोक्न नसकिएको उनले बताए ।