यी हुन् कोरोना संक्रमणका ५ खतरनाक लक्षण, जुन देखिनासाथ अस्पताल गइहाल्नुपर्छः विज्ञ

भारतमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा २ लाख ५९ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ। यस अवधिमा १ हजार ७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।

छिमेकी मुलुक भारतसँगै नेपालमा पनि कोरोनाबाट हुने संक्रमण र मृत्यु दर दिनप्रतिदिन बढिरहेको छ।

विज्ञका अनुसार अहिले कोरोना संक्रमणका नयाँ–नयाँ लक्षण पनि देखापरिरहेका छन्। यसै सन्दर्भमा भारतस्थित उजाला सिग्नस हस्पिटलका हृदयरोग विशेषज्ञ डाक्टर एस.सी. तिवारीले कोरोना संक्रमणका खतरनाक ५ लक्षणबारे बताएका छन्।

भारतीय पत्रिका अमर उजालामा प्रकाशित उनका सुझाव हाम्रा लागि पनि उपयोगी हुन सक्ने भएकाले यहाँ प्रस्तुत गरिएको हो:

१. सास लिन गाह्रो : सास लिन गाह्रो हुनु कोरोना संक्रमणको प्रमुख र खतरनाक लक्षण हो। यदि तपाईं कोरोना संक्रमित हुनुहुन्छ भने ध्यान पुर्याउनुस्, किनकि सास लिन गाह्रो भयो भने ज्यानै जाने जोखिम पनि आउन सक्छ। यसकारण यस्तो लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ, डाक्टरसँग सम्पर्क गरिहाल्नुपर्छ।

२. अक्सिजनको मात्रा कम हुनु : कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्रामा निकै नराम्रो प्रभाव पार्छ। हाल धेरैजसो संक्रमितमा अक्सिनको स्तर कम देखिएको छ, जसले गदाृ उनीहरू अस्पताल भर्ना हुन बाध्य भइरहेका छन्। यीमध्ये कतिपयको मृत्युसमेत भइरहेको छ। यसकारण सतर्क हुन जरुरी छ।

३. छातीको दुखाइ : छातीमा कुनै पनि किसिमका दुखाइलाई बेवास्ता गर्नु हुँदैन। यो पनि कोरोनाका खतरनाक लक्षणमध्ये एक हो। तपाईंमा यस्तो लक्षण देखिएको छ भने तुरुन्त अस्पताल जानुस्।

४. सजिलो काम पनि कठिन लाग्नु : कोरोना संक्रमणले मस्तिष्कको काम गर्ने क्षमता र स्नायु प्रणालीमा पनि असर पार्छ। धेरै संक्रमितमा भ्रम, बेचैनी र बेहोसीजस्ता लक्षण पनि देखिएका छन्। विशेषज्ञका अनुसार यदि तपाईंलाई कोरोना संक्रमण छ र सजिलो काम गर्न पनि कठिनाइ महसुस भइरहेको छ भने अथवा बोल्न गाह्रो भइरहेको छ भने तुरुन्त अस्पताल जानुपर्छ।

५. ओंठ नीलो देखिनु : कोरोना संक्रमित व्यक्तिको छाला वा ओंठ नीलो देखियो भने सामान्यतया यो रगतमा अक्सिजनको मात्रा कम भएको संकेत हो। यस्तो लक्षण देखियो भने सतर्क हुन जरुरी छ र तुरुन्त अस्पताल जानुपर्छ।

कोरोनाले सिकिस्त छन् बिरामी अस्पतालमा बेड नहुँदा भुइँमै उपचार !

अस्पताल आउने कोरोना संक्रमितको संख्या बढेसँगै बेड अभाव हुन थालेको छ । कतिपय अस्पताललाई अक्सिजन जुटाउन समस्या देखिएको छ ।

३५ बेड रहेको दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ४२ संक्रमितको उपचार भइरहेको छ । पाँच जनालाई आईसीयूमा र ३७ जनालाई अक्सिजन दिएर एचडी बेडमा राखिएको छ ।

दिनमा १७ देखि २० जना संक्रमित थपिने भए पनि बेड अभावमा भर्ना गर्न नसकिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार अस्पतालमा दिनमा ५५ सिलिन्डर अक्सिजन खपत भइरहेको छ ।

अस्पतालको अति आवश्यक खर्च महिनामा १ करोड ७ लाख ९० हजार ५ सय भइरहेको वलीले जानकारी दिए ।

लुम्बिनी प्रदेश सरकारको पहलमा अस्पताल खुले पनि असोजयता खर्च नपठाएको उनले बताए । ‘हामी ऋणमा काम गरिरहेका छौं । अब उधारोमा सामान पाउन गाह्रो हुन थाल्यो ।

अहिले अक्सिजनको अभाव हुन थालेको छ,’ उनले भने, ‘समयमै आवश्यक सामान किन्न सकिएन भने बिरामीको उपचार नपाएर ज्यान जान सक्छ ।’

बेड नभएका कारण बिरामी फर्काउनुपरेको र गम्भीर अवस्थाकालाई भुइँमै सुताएर उपचार गरिरहेको उनले बताए । ‘छिट्टै बेड नबढाए र आवश्यक सामान किन्न नसके अवस्था साह्रै भयावह हुन सक्छ । अक्सिजन र उपचार नपाएरै बिरामीको ज्यान जान सक्छ ।’

अस्पतालमा चार मेडिकल अधिकृत र १२ नर्स कार्यरत छन् । एक नर्सले एक बिरामीको स्याहार गर्नुपर्ने अवस्थामा यति थोरै जनशक्तिले सेवा दिन पनि कठिन भइरहेको उनले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button