यी विषय टुंग्याउन कांग्रेसका शीर्ष नेताले लिए ५ दिन समय

कांग्रेसमा सबैभन्दा तल्लो तह वडा अधिवेशनको मतदाता क्रियाशील सदस्य हुन्। छ हजार सात सय ४३ मध्ये एक सय वडामा अझै क्रियाशील सदस्यतामा विवाद छ।

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले क्रियाशीलको प्रतिवेदन थप परिस्कृत बनाएर आज बुझाएका छन्। उक्त प्रतिवेदन अझै अपुरो छ।

विवादित वडामा क्रियाशील कसरी टुंग्याउने भन्ने जिम्मा शीर्ष नेतृत्वलाई छाडिएको छ। शीर्ष नेताहरू नै बैठक गरी अब विवादित क्षेत्रबारे निर्णय गर्नेछन्।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा बिहीबार पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिबीच छलफल भएको थियो।

उक्त छलफलपछि क्रयाशील छानबिन समितिका संयोजक रमेश लेखकले विवादित विषय अब शीर्ष नेताहरूले टुंग्याउने जानकारी दिए। क्रियाशीलबारे छानबिन समितिभित्र एकमत नभएका विषय शीर्ष नेताले टुंग्याउने मापदण्ड बनेको थियो।

‘हामीले साउन १२ मै क्रियाशीलबारे प्रतिवेदन बुझाएका हौं। हाम्रो समितिमा निर्णय हुन नसकेका विषय केन्द्रीय नेता तहमै छलफल गरी सहमति गर्ने मापदण्डमै भनिएको थियो,’ उनले भने, ‘केही विषय हाम्रो समितिमा एकमत हुन सकेन। अधिकांश काम सकेका छौं। केही विषय शीर्ष नेता तहमै छलफलबाट हल गर्नुपर्नेछ।’

उनले शीर्ष नेताले हल खोज्नुपर्ने समस्याको पहिचानसमेत गरी प्रतिवेदन बुझाइएको पनि बताए। अहिले ३ वटा विषय छलफल गरी हल खोज्नुपर्ने छन्।

अरू पार्टीबाट कांग्रेसमा आएका नेता तथा कार्यकर्तालाई क्रियाशील सदस्यता दिन समायोजन समितिले निर्णय गरी पठाएको छ। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अरू पार्टीबाट आएकालाई कांग्रेसमा समायोजन गर्न समिति बनेको थियो।

निधि नेतृत्वको उक्त समितिले समायोजन गरेकाहरूलाई क्रियाशील दिनेबारे छानबिन समितिमा एकमत हुन सकेको थिएन। यो विषय शीर्ष नेताहरूबीच छलफल गरी टुंग्याउनुपर्नेछ।

‘समायोजनबारे हाम्रो समितिमा सहमति हुन सकेन। त्यसबारे के गर्ने शीर्ष नेताले छलफल गर्नुहुन्छ,’ लेखकले भने।

कांग्रेसमा विजयकुमार गच्छदार नेतृत्वमा नेपाल लोकतान्त्रिक फोरम, सुनिलबहादुर थापा नेतृत्वमा राप्रपालगायत विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता समायोजन भई आएका छन्।

अर्को विषय धनुषा क्षेत्र नम्बर ४ र सर्लाही क्षेत्र नम्बर २ को सम्बन्धमा छ। क्रियाशील दिने बारे यहाँ पनि विवाद देखिएका छन्।

बारा र सप्तरीमा पुराना क्रियाशीलको नवीकरण गरे पनि नयाँ क्रियाशीलबारे छानबिन समितिमा सहमति हुन सकेन। यी जिल्लाबाट आएका नयाँ क्रियाशीलबारे पनि निर्णय गर्ने जिम्मेवारी शीर्ष नेतृत्वलाई छ।

‘विवाद देखिएका ठाउँबारे समाधान खोज्न शीर्ष नेताहरूले ५ दिनको समय लिनुभएको छ। त्यसपछि निर्वाचन समितिले आफ्नो काम सुरू गर्छ,’ उनले भने।

क्रियाशीलबारेको प्रतिवेदनमा छानबिन समितिकै सदस्य कल्याण गुरूङले असहमति जनाएका थिए।

बुधबार बसेको पदाधिकारी बैठकले २४ घन्टा समय दिएर प्रतिवेदन परिस्कृत गर्न भनेको थियो। समितिले आज परिस्कृत प्रतिवेदन पनि दिएको छ।

छानबिन समितिका सदस्यसमेत रहेका प्रवक्ता प्रदीप पौडेलका अनुसार एक सय वडामा क्रियाशीलबारे अझै विवाद छ।

‘क्रियाशील छानबिन बारेको प्रतिवेदनमा सामान्य त्रुटि देखिएका थिए। सच्याएर आज बुझाइएको छ। अब छानबिन समितिले आफ्नो काम सिध्यायो,’ उनले भने, ‘बाँकी विवाद शीर्ष नेतृत्वबाट हल हुन्छ।’

विवादित वडामा अहिले नयाँ क्रियाशीलको विषय स्थगित गरिएको छ। यी क्षेत्रमा पुराना क्रियाशील भने नवीकरण गरिएको छ।

विवादित क्षेत्रमा १३ औं महाधिवेशनकै क्रियाशीलबाट वडा अधिवेशन गर्न सक्ने विकल्पबारे पनि छलफल भइरहेका छन्।

‘अब क्रियाशीलको विवाद देखाएर महाधिवेशन रोकिने अवस्था छैन,’ पौडेलले भने, ‘चार प्रतिशत वडामा विवाद छ।

१३ औं महाधिवेशनमा पनि ३३ ठाउँमा विवाद थियो। त्यसभन्दा पहिले पनि विवाद हुन्थे।’

क्रियाशील टुंग्याउन नसक्दा कांग्रेसको महाधिवेशन कार्यतालिका भने प्रभावित बनेको छ।

साउन १२ का लागि तोकिएको वडा अधिवेशन कहिले गर्ने टुंगिएको छैन। छानबिन समितिले साउन अन्तिम सातातिर वडा अधिवेशन गर्न सुझाव दिएको छ।

‘साउन अन्तिम सातातिर वडा अधिवेशन गर्न सकिन्छ,’ पौडेलले भने। कांग्रेसले भदौ १६ देखि १९ मा १३ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याएको थियो। असार मसान्तभित्र क्रियाशील सदस्यता विवाद हल गर्ने भने पनि अहिलेसम्म नटुंगिँदा महाधिवेशन प्रभावित बन्ने देखिएको छ।

गत फागुनमा कांग्रेस केन्द्रीय समितिले क्रियाशील छानबिन गर्न लेखकको नेतृत्वमा समिति बनाएको थियो। झन्डै पाँच महिना उक्त समितिले क्रियाशीलबारे परेका पाँच हजार उजुरी अध्ययन गरी अधिकांश क्षेत्रमा विवाद टुंग्याएको छ। 

कांग्रेसले देशभित्र मात्रै आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य बनाएको छ।

 विवादित एक सय वडाको हल हुँदा र विदेशस्थित जनसम्पर्क समितिबाट पनि क्रियाशीलको नामावली आएपछि यो संख्या बढ्ने देखिन्छ। 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button