यस्तो हुन सक्यो भने पृथ्वीका प्रत्येक मानिस अरबपति हुन्छन् !
के तपाईं पत्याउनु हुन्छ पृथ्वीका प्रत्येक मानिस अरब हुन सक्छन् ! केही गाह्रो छैन। क्षमा गर्नु होला यो कुनै राजनैतिक दर्शन, वाद, सिद्धान्त अथवा राजनैतिक व्यवस्थाले होइन, विज्ञानबाट मात्रै सम्भव छ।
कुरा विज्ञानको आएपछि शायद तपाईंलाई अलिकति भए पनि विश्वास अथवा कुरामा चासो लाग्यो होला। किनकि अहिलेसम्म देखिएकै कुरा हो, राजनीतिक व्यवस्था जुनसुकै भए पनि सर्वसाधारणका लागि तुलसीदास कै वचन युगौंदेखि सार्थक रही आएका छन् – ‘कोउ नृप होइ हमहि का हानि !’
तपाईंलाई कौतुहल लागिसक्यो होला, होइन विज्ञानले कसरी पृथ्वीका अरबौं मानिसलाई अरबपति बनाउन सक्छ ! के विज्ञानले सुन कै वर्षा गराइदिन्छ र !
ऐ, तपाईंलाई यति थाहा हुनुका साथै विश्वास पनि रहेछ, पृथ्वीको अर्थ र मुद्रा व्यवस्थामा सुन सर्वोपरि स्थान राख्छ। र, केही गरी तपाईंले २ -३ सय किलो सुन पाउनु भयो भने तपाईंलाई अरबपति हुनबाट कसले रोक्न सक्छ ?
सुन एउटा धातु हो, जुन पृथ्वीको गर्भबाट निस्किन्छ। पृथ्वीको गर्भमा यस्ता अनेकौं धातु छन्। हुन त सुन मात्रै किन तपाईंको घर- खेतमा फलाम, कोइला अथवा जुनसुकै धातुको प्रचुर मात्रामा मौज्दात भेटियो भने अरब हुने सपना साकार हुन्छ।
तर, सुनको भने महिमा नै बेग्लै … तपाईं बुझ्नु हुन्छ, होइन र ! सीधा र सत्य कुरा हो, सुनको व्यवस्थापन गर्न अरु धातुको तुलनामा सजिलो हुन्छ। विज्ञानमा रूचि भएका पाठकहरुलाई थाहा नै छ– एउटा धातुबाट अर्को धातु बनाउन सकिन्छ।
कुनै पनि धातुको एटममा रहेका इलेक्ट्रानको व्यवस्थापन नै हो फरक फरक धातु हुने कारण। तिनका इलेक्ट्रानको संयोजन बदलिएर कुनै पनि धातुबाट अर्को धातु बनाउन सकिन्छ। अर्थात फलामबाट सुन बनाउन सकिन्छ। सुनबाट फलाम पनि… ओहो के लेखेछु, कसले पो यस्तो रहर गर्ला !
वैज्ञानिकहरुले अन्य धातुबाट सुन बनाउने सफलता नपाएका होइनन, बनाउन सक्छन् / बनाइसकेका छन्।
तर दुर्भाग्य के हो भने प्रयोगशालामा कुनै धातुबाट सुन बनाउने प्रक्रियाले बनेको सुन, प्राकृतिक रूपमा पाइने सुनभन्दा (बाजारमा पाइने सुनभन्दा ) झनै महङ्गो पर्न आउँछ। दन्त्यकथामा वर्णित जे छुवाइए पनि सुन बनाइदिने पारस पत्थर अहिलेसम्म भेटिएको छैन।
पृथ्वीका मानिसहरुसँग (सरकार – बैंक) कुल कति सुन होला ? यो जान्ने जाँगर तब न लाग्छ जब आफूसँग पनि १००-२०० किलो होस्।
नभए पृथ्वीमा कति लाख टन सुन छ भन्ने थाहा पाएर के गर्नु ! ल्हासामा सुन छ … उखान सरह नै हो नि !
अब संसार ‘गोल्ड पीक’का छेउछाउ पुगेको खबरले तपाईंलाई अलि कति भए पनि सन्तोष गराउँछ होला। ‘गोल्ड पीक’ भनेको अब पृथ्वीको गर्भमा रहेको सुनको मात्रा कम हुँदै गइरहेको जनाउँछ।
अर्थात् अब विस्तारै सुनका खानी रित्तिँदै गइरहेका छन। ‘वर्ल्ड गोल्ड काउन्सिल’ (WGC) का अनुसार वर्ष २०१९ मा संसारभरि धरतीको छाती विदीर्ण गरी ३,५३१ टन सुन दोहन गरियो। विश्वका नामुद सुन उत्खनन कम्पनीहरुका अनुसार पृथ्वीको छातीमा रहेको कुल सुनको तीन चौथाई सुन दोहन भएर मानिसको शरीर -घर-बैंकमा पुगिसकेको छ।
विचार गरी हेर्नुस् है पृथ्वीभित्र रहेको कुल सुनको तीन चौथाई सुन झिकिँदासम्म तपाईंको भागमा कति पर्न आएको छ ?
अब पृथ्वीको गर्भमा एक चौथाई सुन मात्रै बाँकी छ, यसको अनुमानित मात्रा ५४,००० टन रहेको छ। यसको तीन गुना अर्थात झण्डै १,६२,००० टन सुन संसारको बाजारमा बिक्री वितरण भइरहदा लेख्ने व्यक्तिसंग १ तोलाको पनि भण्डारण नहुँदा कसरी कुनै पनि राजनीतिक व्यवस्थाको अभिष्ट हुनु !
विश्वका ठूला सुन उत्खनन कम्पनीहरु ‘न्युमोन्ट गोल्डकॉर्प’, ‘बैरिक गोल्ड कारपोरेसन’, ‘किनोरस गोल्ड कर्पोरेसन’लाई पृथ्वीभित्र सुन घट्दै गइरहेको र केही वर्षमै यो समाप्तोन्मुख हुने जानकारी गराएकोमा ‘धन्यवाद’ नभनी रहन सकिएन।
अब पृथ्वीमा सुनको वर्षा गराउने जिम्मा विज्ञानको काँधमा आएको छ।
विज्ञानले सुदूर अन्तरिक्षमा यसको खोजी अभियान थालनी गरेको छ।केही वर्षमै यो अभियान साकार भएर अहिले पृथ्वीमा उपलब्ध सुनको मात्राभन्दा सयौं गुना बढी सुनको ओइरो पृथ्वीमा लाग्ने आशा वैज्ञानिकहरुले गरेका छन् ।
यसका लागि विज्ञानका आँखा झण्डै ५०-५५ करोड किमी टाढा अन्तरिक्षमा केन्द्रित भएका छन्। पृथ्वी भन्दा ‘नेक्स्ट’ ग्रह (सूर्यसंग अवस्थितिको आधारमा ) मंगल हो। यसको पृथ्वीसंग दूरी सरदर २२,५००००० किमी छ (नजीक हुँदा यो दूरी ७,७७,९२००० र टाढा हुँदा दूरी बढेर ४०,१००००० किमी सम्म हुन्छ )। मंगलपछिको अर्को ग्रह बृहस्पति हो।
बृहस्पति र मंगलबीचको ‘स्पेस’मा अनेकौं खगोलीय पिण्डको उपस्थिति छ। यी पिण्डलाई क्षुद्रग्रह (ऐस्टेरॉयड ) भनिन्छ। मंगल र बृहस्पति ग्रहको ‘स्पेस’मा रहेका लाखो ऐस्टेरॉयड क्षेत्रलाई ऐस्टेरॉयड क्षेत्र ( ऐस्टेरॉयड बेल्ट ) भनिन्छ। यहाँ रहेका ऐस्टेरॉयडसम्म विज्ञानका यान पुगिसकेका छन्।
अमेरिका र जापानले यहाँ पुगेर ऐस्टेरॉयडको उत्खनन गरेर ‘नमूना’ ल्याइसकेका छन्। यही ऐस्टेरॉयड बेल्टमा एउटा यस्तो ऐस्टेरॉयड छ, जसको संरचनामा प्रचुर मात्रामा बहुमूल्य धातु जस्तै सुन -प्लेटिनम -फलाम -निकल रहेका छन्। प्रचुर मात्रामा सुन रहेको यस ऐस्टेरॉयडको आकार (व्यास ) २२६ किमी रहेको छ।
अन्तरिक्ष वैज्ञानिकहरुका अनुसार यस ऐस्टेरॉयडमा रहेको फलामको मूल्य मात्रै ८,००० क्वॉड्रिलियन डालर हुन आउँछ।क्वॉड्रिलियन भनेको १ का पछाडि १५ वटा शून्य थप्ने संख्या हो । यो त मात्र त्यस ऐस्टेरॉयडमा रहेको फलामको बाजार मूल्य हो। यहाँ करोडौं टन सुन पनि रहेको छ। यहाँ रहेको सुनको मात्रा पृथ्वीमा उपलब्ध सुनको मात्रा भन्दा सैयौं गुना बढी छ। यस ऐस्टेरॉयडको वैज्ञानिक नाम १६ साइकी रहेको छ।
नासाले अर्को वर्ष २०२२ मा यस ऐस्टेरॉयडमा आफ्नो एउटा ‘स्पेस प्रोब’ पठाउने योजना अघि सारेको छ। यसलाई डिस्कभरी मिसन नाम दिइएको छ। नासाले पठाएको यान यस ऐस्टेरॉयडमा सन २०२६ मा ओर्लिने अनुमान गरिएको छ।
विश्वभरिका तमाम आईएनजीओसंग आबद्ध बुद्धिजीवीले पृथ्वीमा अर्को भीषण युद्ध हुन सक्ने अनेकौं सम्भावित कारण ( पानीसम्म ) औंल्याउछन् । अब तिनले औंल्याएको कारणले युद्ध हुन्छ कि हुन्न त्यो भविष्यको गर्भमा छ तर विश्वका शक्तिशाली देशबीच ऐस्टेरॉयड ‘माइनिंग’लाई लिएर युद्ध हुने संभावना बढ्दै गइरहेको छ।
ऐस्टेरॉयड १६ साइकी कै कारण विश्वको शान्ति व्यवस्था भंग भयो भने पनि अनौठो मान्नु पर्दैन। लाखौं क्वॉड्रिलियनको सम्पत्तिमा प्रभाव जमाउन १०-२० खरब डलर खर्च गर्नु कुन ठूलो कुरा हुन्छ विश्वका शक्तिशाली देशका लागि ?
युद्ध हुन्छ कि शान्तिपूर्ण ढंगले समाधानको कुनै बाटो निस्किन्छ त्यो भविष्य कै गर्भमा छ। तर यति निश्चित छ विज्ञानले ५०-६० करोड किमी टाढा रहेका ऐस्टेरॉयडमा लुकेको भव्य सम्पदा दोहन गरी पृथ्वीमा ल्याउने सफलता आउँदो १५-२० वर्षमै हात पार्ने प्रवल सम्भावना छ।