माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने
१० माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् ।
यसका लागि समूह तयार पारिसकेको उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जनाएका हुन् ।
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुवात भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले पहिलो चरणमा अगाडि रहेर कोभिड–१९ नियन्त्रणमा खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए ।
पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह समेत गरेका छन् । भारत सरकारले यसअघि बिहीबार नै नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिसकेको छ ।
उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ