माओवादी नेता भन्छन्– एमालेमा भविष्य छैन, सत्ताको प्रलोभन मात्रै हो
माओवादी केन्द्रका नेता एवं सांसद देवेन्द्र पौडेलचाहिँ माओवादीको भविष्य राम्रो रहेको बरु एमालेको भविष्य चाँहि अँध्यारो रहेको बताउँछन् । ‘एमालेभित्र झगडा छ, देशैभरि समानान्तर कमिटीहरु बनाउँदै हिँडेका छन्,’ पौडेलले भने,‘माओवादीका केही अवसरवादीहरु बाहेक तल्लो तह एक ढिक्का छ, कम्युनिस्ष्ट आन्दोलनको पुनर्गठन माओवादीबाटै सम्भव छ, एमालेबाट होइन ।’
अहिले प्रधानमन्त्री ओली सत्तामा रहेकाले एमालेबाट अनेक प्रलोभन दिएर माओवादीका केही मानिसलाई पार्टीमा प्रवेश गराइएको भए पनि तल्लो तहसम्म पार्टी एक ढिक्का रहेको पौडेलले दोहो¥याए ।
‘सत्ताको प्रलोभनमा उता लाग्दा केही पाइन्छ कि भनेर केही साथीहरु गएका छन्, यसलाई माओवादीमा पहिरो गएको भन्न मिल्दैन’ उनले भने, ‘पार्टी फेरेर केही अर्थ छैन, सरकार ढलेपछि त्यहाँ जाने साथीहरुको बिजोग हुन्छ । एमाले आफैं ठूलो आन्तरिक विवादमा फसेको छ ।’
माओवादीका सांसद घटाउने खेल
माओवादीमा रहेका सांसदहरुलाई एमालेमा तानेपछि माओवादीले उनीहरुलाई कारवाही गर्ने गरेको छ । यसले गर्दा संघ र प्रदेश दुबै ठाउँमा माओवादीको सांसद संख्या घट्दै गएको छ ।
अर्कोतर्फ, माओवादीबाट नेताहरु एमालेको ओली समूहमा प्रवेश गर्न थालेको सन्देश प्रवाह गरेर प्रधानमन्त्री ओलीले माओवादीप्रति मनोवैज्ञानिक प्रहारको नीति लिएको देखिन्छ ।
माओवादीका सांसदहरुको संख्या घट्दै जाँदा विपक्षी गठबन्धनको गणित कमजोर हुने र एमालेको सरकार टिकाउन सजिलो हुने विश्लेषण एमाले नेताहरुले गर्दै आएका छन् ।
बालुवाटार स्रोतले भन्यो, ‘अब यो क्रम जारी रहन्छ । निर्वाचनका बेलासम्म माओवादीका धेरै नेताहरु एमालेमा आउँछन्, प्रधानमन्त्रीजीले नेताहरुको सूची नै बनाइसक्नुभएको छ, समय आएपछि उनीहरुलाई पार्टी प्रवेशको घोषणा गराइने प्रधानमन्त्रीले बताउनुभएको छ ।’
माओवादीबाट एमालेमा प्रवेश गरेर हाल खानेपानी मन्त्री बनेका मणि थापा आगामी चुनावसम्म जाँदा माओवादीबाट एमालेमा प्रवेश गर्ने क्रम अरु बढ्ने दाबी गर्छन् ।
माओवादीका कार्यकर्ताहरु किन एमालेमा प्रवेश गर्न थालेका होलान् ? भन्ने प्रश्नमा मन्त्री थापाले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डमा केही पनि वैचारिक भिन्नता रहेन ।’ अब माओवादी आन्दोलन पुनर्संगठित भएर राष्ट्रिय राजनीतिको केन्द्रमा मूल प्रवाह बन्ने आशा कम देखिएकाले माओवादी छाडेर एमालेमा आउने क्रम बढेको हो ।’