भिरमा भेटियो सुजिता भण्डारीको शव, आफन्तले गरे राजमार्ग अवरूद्ध

चितवनको राप्ती नगरपालिका वडा नम्बर ३ की २२ वर्षीया सुजिता भण्डारीको शव भिरमा फेला परेको छ।

राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फेला परेको थियो।

उक्त शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउँदैछ। सो क्रममा भण्डारीका परिवार र आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका छन्।

भण्डारी बेपत्ता भएकोबारे प्रहरीलाई खबर गरे पनि समयमै खोजबिन नगरेको आरोप स्थानीयहरूको छ। उनीहरूले पूर्वपश्चिम राजमार्गको गड्यौलीमा ट्रक र ढुंगामुढा तेर्साएर अवरोध गरेका छन्।

उनीहरूले भण्डारीको शव नबुझ्ने बताएका छन्। प्रहरीले घटना सामसुम पार्न खोजेको आरोप स्थानीयको छ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी उपरीक्षक ओम अधिकारीले भण्डारीको शव भिरालो जमिनको लहरोमा अड्किएको अवस्थामा फेला परेको बताए।

शव भेटिएको स्थान नजिकै स्प्राइटको बोत्तल फेला परेको छ। उक्त बोत्तलमा पतेरालाई मार्न प्रयोग हुने विष फेला परेको छ। भण्डारीले सो विष सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

उनी असार ११ देखि हराइरहेकी थिइन्। उनलाई अपहरण गरेको हुन सक्ने परिवारको भनाइ थियो। उनीहरूले प्रहरीमा निवेदन पनि दिएका थिए।

प्रहरीले अपहरण भएको भन्ने पाटोबाट पनि अनुसन्धान जारी राखेको जनाएको छ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार शव फेला परेको स्थाननजिकै झोला च्यातिएको अवस्थामा फेला परेको छ।

भण्डारीको चार जना दिदीबहिनी छन्। उनीहरूको पारिवारिक अवस्था कमजोर छ।

कञ्चनपुर र सुनसरीबाट ब्राउनसुगरसहित पाँच युवा पक्राउ

लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्।

आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

म२प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा दुबैको साथबाट २३.२५ ग्राम ब्राउनसुगर बरामद भएको छ।

यस्तै, इटहरीबाट तीन जना युवालाई २१ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी-६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी-८ का २५ वर्षीय शम्भु कार्की र इटहरी-५ का २० वर्षीय सुजन श्रेष्ठ छन्।

खुला विश्वविद्यालयका शिक्षक-कर्मचारीले एक साता काम रोक्ने

निमित्त उपकुलपतिले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति प्रक्रिया रोकेको भन्दै नेपाल खुला विश्वविद्यालयका शिक्षक–कर्मचारी आन्दोलित भएका छन्।

चार वर्षदेखि सञ्चालनमा रहेको खुला विश्वविद्यालयका शिक्षक कर्मचारीलाई स्थायी गर्ने विज्ञापनमा रोक लगाउने कुलपति र उपकुलपतिको निर्णयको विरोधमा आन्दोलनकारीले आइतबारदेखि शैक्षिक प्रशासनिक काम ठप्प पारेका छन्।

आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनकारी शिक्षक तथा कर्मचारीहरुले भनेका छन् ‘तत्काललाई विश्‍वविद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा प्राविधिक कार्यहरू यो हप्‍ताभर (असार २५ सम्म) लाई स्थगित गर्न शिक्षक तथा कर्मचारीहरू बाध्य बनेका  छौँ।’ 

विश्वविद्यालयमा कोभिड महामारीको समयमा निरन्तर रूपमा कक्षा सञ्‍चालन, नियमित परीक्षा र प्रवेश परीक्षा सञ्‍चालन, शोधप्रबन्ध प्रतिरक्षा, कार्यक्रम अभिमूखीकरण एवम् अन्य प्रशासनिक र प्राज्ञिक गतिविधि जारी थियो। 

आन्दोलनकारीले विश्‍वविद्यालयको जीवन र गरिमा बचाउने उद्देश्यका साथ गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउन र समस्या समाधानका लागि आवश्यक सहयोग गरिदिन पनि आग्रह गरेका छन्। 

आन्दोलनकारी शिक्षक कर्मचारीले विश्‍वविद्यालयका जिम्मेवार तहमा रहेका पदाधिकारीको गैरजिम्मेवार र विश्‍वविद्यालय प्रतिकूल व्यवहार तथा अभ्यासले विश्वविद्यालयमा समस्या सिर्जना भएको आरोप पनि लगाएका छन्। 

हाल विश्‍वविद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू तत्कालीन पदपूर्ति समितिले खुला प्रतिष्पर्धामार्फत स्थायी नियुक्तिका सबै प्रकृया र मापदण्ड पूरा गरी सिफारिस भएर करार सेवामा कार्यरत छन्। 

विश्‍वविद्यालयको स्थापनाकालदेखि अहिलेसम्म एक जना पनि शिक्षक तथा कर्मचारीको स्थायी नियुक्ति भएको छैन। 

विश्‍वविद्यालय सिनेट सभाको २०७७ भदौ ९  को निर्णयका आधारमा विश्‍वविद्यालय कार्यकारी परिषदले मिति २०७८ वैशाख २४ मा गरेको निर्णयबमोजिम विश्‍वविद्यालय सेवा आयोगद्वारा असार १५ मा शिक्षक तथा कर्मचारीहरूको स्थायी पदपूर्तिका निम्ति गोरखापत्रमा खुला तथा आन्तरिक प्रतिष्पर्धामार्फत नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो। 

उक्त विज्ञापनलाई रोक्ने मनसायले विश्‍वविद्यालयको वेवसाईटमा सूचना प्रकाशन गर्ने पूर्ववत् अभ्यासलाई निमित्तलाई नभएको अधिकार प्रयोग गरेर निमित्त उपकुलपति प्रा डा इन्द्रबहादुर कार्कीद्वारा अधिकार आफूमा केन्द्रित गर्ने निर्णय गरिएको भन्दै आन्दोलनकारीले निमित्त उपकुलपतिकै तत्परतामा कुलपतिद्वारा उक्त विज्ञापन स्थगन गर्न ठाडो आदेश जारी गरिएको बताएका छन्। 

‘हाललाई विज्ञापन रोक्ने घटना पनि विगतका स्थायी शिक्षक तथा कर्मचारी नियुक्ति गर्न नचाहने नियतको निरन्तरता हो’, विज्ञप्तिमा भनिएको छ ‘विश्‍वविद्यालय सिनेट सभाको निर्णय विपरीत कुलपतिको उक्त कार्य नेपाल खुला विश्‍वविद्यालय ऐन विपरीत हुनुका साथै विश्‍वविद्यालय स्वयत्ततासम्बन्धी मान्यता र परम्पराको ठाडो उल्लङ्‍घन हो।’ 

हाल सिर्जित समस्याको समाधानका निमित्त उपकुलपतिसँग तीन पटकसम्म संवाद गर्दा पनि उपयुक्त निष्कर्ष निस्कन नसकेको बताउँदै आन्दोलनकारीले विश्‍वविद्यालयको विकासलाई अवरुद्ध गर्ने वर्तमान नेतृत्वको गैरजिम्मेवारीपनले आन्दोलन बाध्यकारी बनेको दाबी गरेका छन्।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button