बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ ।
काठमाडौं केन्द्रित उडानलाई प्रदेशबाट पनि विस्तार गरिरहेको कम्पनीले आगामी साउन १७ गतेदेखि पोखराबाट नेपालगञ्जको सिधा उडान भर्न लागेको हो ।
शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछ । केही समयपछि यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने योजना बनाएको छ ।
पर्यटकीय क्षेत्र पोखराबाट नेपालगञ्ज उडानले दुबै शहरका जनता लभान्वित हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताउनुभयो ।
उनका अनुसार नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतर्फ पनि पर्यटकीय गतिविधि बढ्ने विश्वास छ ।
नेपालगञ्जका बासिन्दा पनि पर्यटकीय शहर पोखरा आसपासका रहेका तालतलाउ तथा हिमाल श्रृङ्खलाको आनन्द लिन सक्छन् ।
यस उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहर लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक पनि आकर्षित हुने बुद्ध एयरले विज्ञप्तिमा जनाएको छ ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज सञ्चालन गर्नेछ ।
कोभिड–१९ महामारीको सन्दर्भमा बुद्ध एयरले सङ्क्रमणरहित उडानका लागि ‘कोभिडविरुद्ध सुरक्षा निर्देशिका’, जनशक्तिलाई अभिमुखिकरण, पिपिई प्रदान, बीमा र त्यसै अनुरुपको हवाइसेवा सञ्चालन गरिरहेको जनाएको छ ।
पछिल्ला दिनमा हवाई यात्रुको सङ्ख्या पनि क्रमशः बढिरहेको कम्पनीले जनाएको छ । बुद्ध एयरसँग एटीआर–७२ जहाज १० थान, एटीआर–४२ जहाज तीन थान र दुई थान बीचक्राफ्ट जहाज रहेका छन् ।
नयाँ डेल्टा भेरियन्टसहितका बिरामीमा देखिन थालेपछि फेरी निषेधाज्ञा थपियो
जिल्लामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै रहनाका साथै साथै डेल्टा भेरियन्टसमेत बिरामीमा देखिएकाले चितवन जिल्ला प्रशासन कार्यालयले जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज राति १२ बजेदेखि लागू हुनेगरी साउन १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसीएमसी०को सिफारिसमा प्रमुख जिल्ला अधिकारीले आज आदेश जारी गर्दै जिल्लामा निषेधाज्ञा थप गर्नुभएको हो ।
निषेधाज्ञाका समयमा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालन गर्नका लागि मापदण्ड तयार गर्नाका साथै अघिल्लो निषेधाज्ञाका बेला लागू गरिएको नियम पालना गर्न भनिएको छ ।
स्थानीय मार्गमा सञ्चालन हुने सवारीसाधन जोरबिजोर नम्बरमा चल्नुपर्ने, सिट क्षमताअनुसार मात्रै यात्रु राख्नुपर्ने, सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने आदेशमा जनाइएको छ ।
क्याम्पसले लिने परीक्षा तथा प्रवेश परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५भन्दा बढी परीक्षार्थी राख्न नपाइने, एउटा बेञ्चमा एक विद्यार्थी मात्रै राख्नुपर्ने, विद्यार्थीको भौतिक दूरी कायम गराउनुपर्ने, तथा कोभिड सङ्क्रमित विद्यार्थीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि मात्रै परीक्षामा सहभागी गराउनुपर्ने र ३० मिनेटपछि मात्रै परीक्षार्थीलाई कोठाबाट बाहिर निस्कन दिनुपर्ने आदेशमा भानिएको छ ।