प्रधानमन्त्रीको सपथ खाएको केहि घण्टामै देउवाको यस्तो घोषणा, के होला त पुरा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो ।

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६(५) अनुसार कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सरकारले आगामी असोज मसान्तभित्र एकतिहाइ जनसंख्यालाई कोभिड खोप उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मंगलबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै, कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि यसअघिको सरकारले गरेको खर्च सार्वजनिक गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मी लगायतलाई पाउनुपर्ने जोखिम भत्ता एक साताभित्र उपलब्ध गराउन शुरु गर्ने निर्णय बैठकले गरेको छ । मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताका रुपमा मन्त्री कार्कीलाई तोकेको छ ।

यस्तो हुनेछ सरकारको प्राथमिकता

मन्त्रिपरिषद्को बैठकले सरकारको विभिन्न प्राथमिकता निर्धारण गरेको छ । त्यसमा शान्ति सुव्यवस्था कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, आर्थिक समृद्धि, कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्ने विषय पनि सरकारको उच्च महत्वमा रहेको छ ।

विकास निर्माण कार्यमा तीव्रता, दिँदै सार्वजनिक सेवाको प्रभावकारी वितरण वर्तमान सरकारको प्रमुख दायित्वमा रुपमा निर्धारण गरिएको छ । संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदुढीकरणलाई नवगठित सरकारले महत्वका साथ प्राथमिकतामा समेटेको छ ।

विपद्को प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ । त्यस्तै, सरकारले स्थानीय तहको निर्वाचनलाई पनि आफ्नो प्राथमिकतामा समावेश गरेकाो छ ।

विशेष सल्लाहकार नियुक्त गरिने

भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ । सल्लाहकारले सरकारको काम कारवाहीलाई व्यवस्थित रुपमा अगाडि बढाउन सहयोग गर्नेछ ।

कोभिड–१९ को रोकथाम नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

यसैगरी कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक हप्ताभित्र विशेष प्याकेज ल्याइने भएको छ । यस्तै शािन्त प्रक्रियाका बाँकी काम सम्पन्न गरिनेछ । सरकारी, सार्वजनिक निकायमा श्रेस्ता प्रणालीमा आधारित कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याइने भएको छ ।

समग्र आर्थिक विकासका लागि विभिन्न विधामा आवश्यक दक्ष जनशक्तिको प्रक्षेपण गरी व्यवस्थापन गर्न वृहत जनशक्ति योजना तयार गरिनेछ ।

विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्र राष्ट्रलगायत सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना छ ।

मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिनुभयो ।

पदभार ग्रहण

त्यसअघि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर उहाँले आज पदभार ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रधानमन्त्री देउवा सिंहदरबार पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवालाई मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्याल, कृष्णहरि पुस्करलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवासँगै नवनियुक्त मन्त्रीहरू पनि सिंहदरबार पुग्नुभएको थियो ।

शेरबहादुर धेरैका लागि कागजी बाघ !

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेसंगै देउवा पाँचौ पटक मुलुकको कार्यकारी प्रमुख बनेका हुन् ।

सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।

त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने। पञ्चायतविरोधी राजनीति गर्दा देउवामा पटक-पटक जेल परेका थिए।

त्यस्तै राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए।

आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताएका छन्।

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए। २०४८ सालमा डलेलधुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।

त्यसबेला नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका ‘सुरा-सुन्दरी काण्ड’लगायतका घटनाहरू पनि भएका थिए।

त्यस्तै उनलाई नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि कैयौँले स्मरण गर्ने गर्छन्।

२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो।

२०५६ सालमा डडेलधुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरे।

ज्ञानेन्द्रको उक्त कदमविरुद्ध पाँच दल आन्दोलित बने। त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे। तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।

त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो। उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो।

तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए। गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए।

२०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो। नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुन: चौथो पटक प्रधानमन्त्री बनेका थिए। उनकै पालामा नेपालमा नयाँ संविधान लागु भएपछिको पहिलो आम निर्वाचन सम्पन्न भएको थियो।

२०७२ साल फागुनमा भएको १३ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता रहेका थिए। सन् २००८ देखि २०१२ सम्म सोस्यलिस्ट इन्टरन्याश्नलको उपाध्यक्ष समेत रहिसकेका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्।

सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए। उनी वर्तमान प्रतिनिधिसभामा डडेलधुरा जिल्लाबाट निर्वाचित सांसद हुन्।

समग्रमा देउवा निकै रमाइला र फन्नी नेता हुन् । उनी रमाइला छन् । धेरै बोल्दैनन् । आफूले बोलेको मानिसहरुले बुझ्दैनन् भन्नेमा उनी सचेत छन् र थोरै बोल्छन् । तर, उनी हक्की स्वाभावका छन् ।

निकटस्थहरुका अनुसार देउवा निकै दिलदार र सहयोगी भावनाका छन् । कुनै कुरामा हठ राखेर बस्दैनन् । समय अनुसार आफूलाई परिवर्तन गर्न सक्ने नेतामा दरिन्छन् उनी ।

व्यक्तिगत रुपमा उनी अलि बढी अल्छी छन् । उनको सबैभन्दा ठूलो रुचीको विषय नै सुत्ने हो । यसका साथै उनी रक्सी पनि अलि बढी नै पिउँछन् भन्ने मिथक राजनीतिक बजारमा छ । देउवा शास्त्रीय राजनीतिज्ञ होइनन्, व्यवहारिक राजनीतिज्ञ हुन् । यही कारणले उनी पार्टीभित्र रामचन्द्र पौडेलभन्दा सफल छन् । पार्टीभित्र अहिले कोइराला पक्षका शशांक, महेश आचार्य आदिलाई समेत साथमा लिएर हिँड्न सफल भएका छन् ।

तर, देउवाका बैगुनहरु पनि धेरै छन् । कर्मचारी सरुवा बढुवामा घुस र कमिसन खाने प्रचलन देउवाकै संरक्षणमा भएको र यो रोग एमाले माओवादीसम्म फैलिएको धेरैको आरोप छ ।

देशमा भ्रष्टाचार फस्टाउन र कर्मचारीतन्त्रमा राजनीतिकरण मौलाउनेमा देउवाको टीमको योगदान रहेको बताउने गरिएको छ । देउवाको बानी के छ भने उनी सर्वोच्च अदालतमा समेत फोन गरेर त्यो फलानाको मुद्दा उसको पक्षमा फैसला गरिदेऊ न यार भन्न सक्ने नेता हुन् ।

देउवाले अब आफ्नो चौथो प्रधानमन्त्रित्व कालमा भ्रष्टाचारलाई संस्थागत गराउँछन् या कम गराउँछन्, त्यो सबैको चासोको विषय छ । साथै कर्मचारीतन्त्रमा कत्तिको स्वच्छता कायम गर्ने हुन् त्यो पनि अबको उनको चुनौती हो ।

मानिसमा गुन र बैगुन दुबै हुन्छ । उमेरमा देउवाले धेरै सत्तामुखी व्यवहारहरु गरे । अब जीवनको उत्तरार्धमा उनले सत कमाउने बेला आएको छ ।

शेरबहादुर धेरैका लागि कागजी बाघ हुन् । धर्म निरपेक्षतावादीहरु देउवासँग यसअर्थमा डराउँछन् कि कतै उनी हिन्दुराष्ट्रको पक्षमा पो लाग्छन् कि ? मधेसवादी, थारु र जनजातिहरु देउवासँग यस अर्थमा तर्सन्छन् कि विगतमा कैलाली कञ्चनपुरमा जस्तै उनले थारुलाई अधिकार दिन्न पो भन्छन् कि ? मधेसीलाई अधिकार नदिएर ‘खस अहंकारवाद पो देखाउँछन् कि ? जनजातिको हकमा अोलीकै लाइनमा पो उभिन्छन् कि ? देउवासँग सबैभन्दा बढी डर एमालेलार्इ छ ।

देउवाले कतै देशभर कांग्रेसीकरण गरेर एमालेलाई एक्ल्याउने त हैनन् ? एमालेका लागि पनि देउवा निकै ठूलो डरका पात्र हुन् ।

राजावादीहरु र हिन्दुवादीहरु पनि देउवासँग डराउँछन् । देउवाको भरमा पर्दा कतै हिन्दुराष्ट्र स्थापना नहुने पो हो कि ? गणतन्त्रको विरोधमा खेल्न नपाइने पो हो कि ? विशेषगरी खुमबहादुर खड्का र गोविन्दराज जोशीहरुसमेत देउवासँग डराइरहेका छन् ।

समाजमा बदनामी हुने डरका कारण देउवाले खुमबहादुर समूहको कुरा सुन्न छाडिसकेका छन् ।

सारमा भन्दा देउवासँग परिवर्तनकारीहरु पनि डराएका छन् र पुनरुत्थानवादीहरु पनि डराएका छन् । यद्यपि दुबैको भर देउवामै छ । र, यो नै देउवाको व्यक्तित्वको रोचक पहेली बन्न पुगेको छ ।

स्वदेशीमात्रै होइन, विदेशी तत्वका लागि पनि देउवा ‘पेपर टाइगर’ हुन् । भारतलाई के लागेको छ भने देउवा पश्चिमी राष्ट्रको स्वार्थ प्रतिनिधित्व गर्ने नेता हुन् । र, पश्चिमलाई के लाग्दैछ भने पछिल्लो दिनमा देउवा भारततिर ढल्कन लागेका त होइनन् ?

उता चीनलाई के डर छ भने दलाई लामाको नाम जोडेर विवादमा तानिएका देउवाले नेपालमा अब कतै भारत वा पश्चिमाहरुको स्वार्थको प्रतिनिधित्व पो गर्ने हुन् कि ? चीनलाई पनि देउवाको त्रास छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button