प्रचण्ड– माधव पक्षले भरतपुरका मुख्य सडकमा टायर बालेर ओलीको विरोध गर्दै
१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चितवन जाँदै गर्दा नेकपा प्रचण्ड–माधव समुहले भरतपुरका मुख्य सडक पर्चा र टायर बालेका छन् । उनीहरुले भरतपुरको मुख्य चोकहरुमा टायर बालेका हुन् भने नारायणगढको मुख्य बजारको सडकमा १० हजार पर्चा छरेको अनेरास्ववियूका केन्द्रीय सदस्य सुरज सिंह ठाकुरले जानकारी दिए ।
अनेरास्ववियू लेखिएको कालो पर्चामा असंवैधानिक कदम खारेज गर, प्रतिगामीहरु होसियार, जनमतको कदर गर , निरंकुशता लाद्न पाइदैन लगायतका नारा लेखिएको छ ।
प्रधानमन्त्री केपी ओली चितवनमा आफ्नो सम्बोधन अघि महानगरीय सिटीहल र पुलचोक–गोन्द्राङ ६ लेन सडक शिलान्यास गर्दै छन् । यसको भरतपुर महानगरपालिका र प्रचण्ड–माधव पक्षीय
नेकपा चितवनले दुई छुट्टाछुट्टै कार्यक्रम गर्दै पत्रकार सम्मेलन मार्फत शुक्रबार विरोध गरेका थिए । महानगर र नेकपा चितवनले कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले राज्यशक्तिको दुरुपयोग गर्दै व्यक्तिगत चर्चाका लागि काम सुरु भएको योजना शिलान्यास गर्न आएको आरोप लगाएका छन् ।
महानगरपालिकाको निरन्तर पहलमा सुरु भएको र तीव्र गतिमा काम भएको अवस्थामा महानगरसँग समन्वय र जानकारी नगराई परियोजनाको शिलान्यासको तयारी गरेर प्रधानमन्त्रीले जस लिन खोजेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छिन् भने नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजितले ओली समूहका केही व्यक्तिले जिल्लामा नेकपा जिल्ला कमिटीको नाममा गतिविधि गरेकोमा आपत्ति जनाएका थिए ।
असंवैधानिक रुपमा संसद् विघटन गरेको विरोधमा चितवनमा नेकपा दाहाल– नेपाल समूह निकट नेता कार्यक्रताले निरन्तर विरोधका कार्यक्रम गरिरहेका छन् ।