प्रचण्डको सत्ता र पदको महत्वकाङ्क्षाले पार्टी खण्डहर : परराष्ट्रमन्त्री ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता र पदको महत्वकाङ्क्षाका कारण लोभलाग्दो पार्टी एउटा खण्डहरजस्तो बनेको बताएका छन्।

उनले पार्टीलाई गुटहरुको संयुक्त मोर्चाभन्दा माथि उठाउन नसकेका कारण नेकपा धमिराले खाएको खाग जस्तै हुने अवस्थामा पुगेको बताए।

नेकपा जिल्ला कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले केही नेताहरुको घेराबन्दीका कारण मुलुकको राष्ट्रिय राजनीति बलियो बन्न नदिएको तर्क गरे।

उनले यस्तो प्रकारको घेराबन्दीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा हासिल गरेका केही मूल्यहरुलाई समाप्त पार्न खोजेको बताए। 

‘मुलुकले थालेका समृद्धिका अभियानहरुलाई निरन्तर अगाडि बढाउने कि ? फेरि मुलुकलाई आन्दोलनका नाममा अन्तहीन एउटा अस्थिरतामा लैजाने ? स्थिरता कि, अस्थिरता ?’, मन्त्री ज्ञवालीले प्रश्न गरे। 

उनले वर्तमान अवस्थामा मुलुकले खोजेको संसद्को स्थिरता नभई सरकार र नीतिको स्थिरता भएको बताए। सरकार स्थिर भएमा नीति स्थिर हुने, नीति स्थिर भएमा निर्णयहरु स्थिर हुने र निर्णय स्थिर भएमा मुलुकको विकासले एउटा गति लिने उनले बताए। 

विद्यमान कानून नियम, संसारका प्रचलन र अभ्यासबाट मुलुक अब ताजा जनादेशमा जान थालेको भन्दै मन्त्री ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब सूर्य चिह्नसहित चुनावमा होमिने कार्यकर्तामाझ स्पष्ट पारे।

उनले पार्टीभित्रको विचौलिया राजनीति र घेराबन्दीलाई तोड्दै कार्यकर्तालाई चुनावी तयारीमा लाग्नसमेत निर्देशन दिए। 

परराष्ट्रमन्त्री ज्ञवालीले वर्तमान सरकार संविधानभन्दा बाहिर रहेका असन्तुष्ट पक्षहरुलाई समेटेर राष्ट्रिय राजनीतिलाई एउटा नयाँ गति दिन चाहेको बताए। कार्यकर्ता भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले गल्ती गर्नेलाई क्षमा दिने बताउँदै अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गल्ती गरेको भन्दै उनीहरु सच्चिएर आए आफूहरुले क्षमा दिने बताएका हुन्।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने रहेको उनको भनाइ छ। -रासस

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button