नेपाली आकाशमा देखियो यस्तो अनौठो दृश्य, प्रमाणित गर्न नासा पठाइयो
गत आइतबार साँझ ५ बजेर १८ मिनेटमा जनकपुरको गंगा सागरबाट खिचिएको एक भिडियोमा यूएफओ (Unidentified flying object) देखिएको दाबी गरिएको छ ।
जनकपुरका व्यवसायी सेवइ यादवले २७ असारमा खिचेको भिडियोमा यूएफओ देखिएको भन्दै प्रमाणिकताका लागि नासा र काठमाडौंस्थित अमेरिकन दूतावासलाई समेत इमेल गरेका छन् ।
यादव आफ्ना साथी सरोजकुमार साहसित हरेक दिनजसो साँझ गंगा सागरमा डुल्न निस्कन्छन् । त्योदिन गंगा सागरको वाटर फाउन्टेन उनलाई मनमोहक लाग्यो ।
आकाश पनि सफा र निलो देखिँदा यादवले वाटर फाउन्टेनलाई पृष्ठभूमिमा राखेर धेरैजसो भाग अकाशतिर तेर्साएर मोबाइलमा भिडियो खिच्न थाले ।
सामसुङ एस–८ प्लस मोबाइलबाट ६ सेकेन्ड जतिको भिडियो खिचेपछि यादवले ‘कस्तो आयो’ भनेर एक–दुई पटक रि–प्ले गरेर हेरे ।
‘गंगा सागरमा एकछिन बसेर हामी घर फर्कियौं,’ यादवले भने, ‘राति ध्यानपूर्वक भिडियो हेर्दा कालो ड्रोनजस्तो केही वस्तु उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा जाँदै गरेको देखियो ।’
यादवले खिचेको ६ सेकेन्डको भिडियोमा एक सेकेन्डसम्म त्यो वस्तु देखिएको छ । यादवले १ सेकेन्डमा देखिएको त्यो वस्तुसहितको भिडियोलाई ४१ सेकेन्डमा स्पान गरेर फेरि हेरे ।
‘ड्रोनजस्तो कालो रंगको त्यो वस्तुमा दुवैतिर पखेटा पनि देखियो,’ यादवले भने, ‘३–४ दिन समय लगाएर युट्युव र अन्यतिर पनि खोजतलास गर्दा यो यूएफओ नै रहेको हाम्रो दाबी छ ।’
यादव र साहले त्यो भिडियोको स्क्रीन सटसहित गत बुधबार नासालाई एउटा इमेल पठाएका छन् । ‘मैले खिचेको भिडियोमा यूएफओजस्तो वस्तु देखिएको छ । स्क्रीन सट पठाएको छु । के हो ? अनुसन्धान गर्ने भए फुटेज पठाउँछु भनेर नासालाई इमेल लेखे,’ साहले भने, ‘नासाबाट इमेलको कुनै जवाफ आएको छैन ।’
अमेरिकी दूतावासमार्फत जाँदा सजिलो हुने कसैले सुझाएपछि यादव र साहले दूतावासलाई १५, २० र २१ जुलाई गरी तीन पटक इमेल लेखे । दूतावासको कर्मचारी भनेर पुरन चन्दले ह्वाट्स एपमा उनीहरूसँग भिडियोको फुटेज मागे ।
‘पर्सनल नम्बरमा फुटेज मागे । विश्वास नलागेर दिएको छैन,’ यादवले भने ।
यादव र साहले आफूले खिचेको भिडियोमा यूएफओ नै देखिएको दाबी गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोला र नेपाल प्रहरीका डीआईजी उमेश रञ्जितकारसँग भेटेर पनि आफूहरुको दाबी प्रमाणित गराउन सहयोग गर्न आग्रह गरेका छन् ।
बाँस्तोला र रञ्जितकारले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाउन यादव र साहलाई सुझाव दिए । दुवै जना फुटेज बोकेर काठमाडौं जाने तयारीमा छन् । शिलापत्र
नेपाल समूहलाई ८ वटा मन्त्रालय दिने सहमति
नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ ।
नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन् ।
तर, नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन सकेका छैनन् ।
देउवा नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरमै धाइरहेका छन् ।
नेपाल समूह सरकारमा सहभागी भएको खण्डमा नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय दिने सहमति बनेको छ ।
उता जसपा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएसँगै तत्काल सरकारमा सहभागी हुने भएको छ ।
परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय ताकेको जसपाले कम्तीमा ६ वटा मन्त्रालय लिने भएको छ । तर, नेपाल समूह सरकारमा सहभागी हुने नहुने निक्र्यौल नभएसम्म यसै भन्न सकिने अवस्था छैन ।