निर्मला, भागरथीका हत्यारा भागेर विश्वका जुनसुकै कुनामा गए पनि छोडिने छैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला, भागरथी लगायतका बलात्कारी र हत्याका आरोपितहरूलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन्।
काठमाडौंमा महिला हिंसा अन्त्य गरी बलात्कारी र हत्यारालाई कारबाही गर्न दिनहुँ आन्दोलन र विरोध प्रदर्शन भइरहेका बेला लुम्बिनी पुगेर प्रधानमन्त्रीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने बताएका हुन्।
नेपाल लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको जनसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘निर्मला र भागरथी हत्याकाण्डका अपराधीलाई पानीमुनि गए पनि छोडिने छैन, भागेर विश्वका जुनसुकै कुनामा गए पनि छोडिने छैन खोजेर समातेर ल्याएर उनीहरूलाई कारबाही गरिने छ।’
प्रधानमन्त्री ओलीले दुई चार दिन एक वर्ष भागेर बस्दैमा अपराधको सजाय नघट्ने भन्दै छिट्टै अदालतको कठघरामा उभ्याइने बताए।
‘अपराधीहरू दुई चार दिन, एक वर्ष उम्किएलान्, तर कारबाही गरेरै छोडिने छ, दोषबाट उम्किन दिइने छैन, अपराधबाट उम्किन दिइने छैन,’ उनले भने।
प्रधानमन्त्री ओलीले अपराधबाट डराएर केही समय थर्कमानका दिन बिताए पनि सजाय नघट्ने र पूराका पूरा सजाय दिलाउने प्रतिवद्धता व्यक्त गरे।
प्रधानमन्त्री ओलीले समाजमा हत्या बलात्कारसँगै अरू प्रकारका अपराध हुन नदिने र शान्ति सुव्यवस्थामा खलल पुग्न नदिने काममा सरकार प्रतिवद्ध रहेको समेत बताए।
‘पहिले एउटै इँट्टाभट्टामा २४ जनालाई हालेर जिउँदै जलाउनेहरू अहिले जेलमा छन्, पहिलेका सरकारहरूले त्यस्ता व्यक्तिहरूलाई मन्त्रिमण्डलमा राख्ने गरेको थियो, हामी जेल पठाएका छौं।’
१२ वर्ष अगाडिका अपराधीहरूलाई अहिलेको सरकारले सजायको दायरामा ल्याएको भन्दै अहिलेका अपराधीहरू पनि छिट्टै पक्राउ पर्ने बताए।
त्यस्तै, प्रधानमन्त्री ओलीले सार्वजनिक सरकारी जमिन आफ्नो बनाउने भू-माफियाहरूलाई पनि कारबाहीको दायरामा ल्याइने थालनी भएको बताए।
‘कुनै पनि भू-माफियाले सरकारी सम्पत्ति आफ्नो बनाउन पाउने छैन, भूमिको समस्या, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या हामी समाधान गर्नेछौं,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले असुरक्षित क्षेत्रका बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने र देशभर खर र फुसका घरका छानामा टिन लगाउने अभियानमा सरकार रहेको बताए।