नवलपुरबाट पहिलो पटक विप्लव सार्वजनिक
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै महासचिव विप्लव सार्वजनिक भएका छन्।
दुई वर्षदेखि भूमिगत रहेका नेकपाका महासचिव विप्लवको नवलपुरबाट सार्वजनिक भएका हुन्।
महासचिव विप्लवले नवलपुरमा सहिद परिवार भेटघाट गरी शुक्रबार बिहान काठमाडौ प्रस्थान गरेका हुन्। सहिद-सप्ताहको अन्तिम दिन नवलपुरस्थित सहिद फूलमाया सारू ‘रमा’ को परिवारलाई विप्लवले भेटेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिए। उनका अनुसार सहिद फूलमाया सारू ‘रमा’ को २०५९ जेठ १९ गते गुल्मीको वामिटक्सारस्थित प्रहरी चौकीमाथिको कारवाहीमा सहादत भएको थियो।
नवलपुरबाट नै भूमिगत पछि उनको पहिलो तस्बिर सार्वजनिक भएको हो। उनलाई कार्यकर्ताले दलदलेबाट शुभकामना दिँदै काठमाडौंका लागि बिदाई गरेका थिए। प्रहरी स्कटिङमा आजै काठमाडौं पुगेर प्रधानमन्त्री केपी ओली सँग उनले संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
सहमतिअनुसार नै विप्लवका बन्दी नेता–कार्यकर्ता रिहाइ गर्ने क्रम सुरु भइसकेको छ। सरकारले उनीहरूलाई रिहा गर्न सम्बन्धित प्रशासन कार्यालयलाई सर्कुलर गरेको छ। प्रतिबन्ध फुकुवाअघि प्रधानमन्त्री ओलीले विप्लवका वार्ता टोलीसँग बालुवाटारमा संवाद गरेका थिए।
विप्लव समूहले आफ्ना राजनीतिक मागलाई शािन्तपूर्ण र वैधानिक रूपमै जनताबीच लैजाने र सरकारले पनि उनीहरूका मागलाई तल्लो तहसम्म बिनारोकतोक बहसमा लैजान दिने गरी शान्तिपूर्ण राजनीतिमा समाहित गरेको हो।
दुवै पक्षले मंगलबार वार्ता टोली गठन गरेपछि बालुवाटारमा बुधबार र बिहीबार गरी तीन चरणमा औपचारिक संवाद भएको थियो। त्यस क्रममा सरकार र विप्लव समूहबीच बिहीबार तीनबुँदे सहमति भएको हो। त्यसको कार्यान्वयन प्रक्रिया पनि बिहीबारै सुरु भएको छ।