धेरै दिन पर्खन सक्दिनँ, सरकारको समर्थन फिर्ता लिन्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताए ।

केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गए पनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नलिनुस् है भनेर जबरजस्त दबाव छ ममाथि । जबरजस्तै छ । मैले नाम चाहिँ भन्दिनँ, कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ है भन्ने छ ।’

अहिलेको राजनीतिक संकटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् अनि सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको प्रचण्डले बताए ।

संसद विघटनविरुद्ध सडकमा गएका दलहरुबीच अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी पर्खेको प्रचण्डले बताए ।

उनले भने, ‘मेरो  कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु, जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरूका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’

प्रचण्डले अगाडि भने, ‘अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नको निम्ति मात्रै आफूले दाह्रा किटेर समर्थनलाई एक÷दुई दिन रोकेको मात्रै हो ।’

-रासस

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button