धरौटी तिरेर छुटे विप्लव समूहका नेता माइला लामा

संखुवासभा कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा रिहा भएका छन्।

उनी बिहीबार रिहा भएका हुन्।

सरकार र विप्लव नेतृत्वको नेकपाका समूहबीच तीन बुँदे सहमति भएको दुई महिनापछि लामा रिहा भएका हुन्। सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमतिअनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त भएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी डिल्ली प्रसाईँले बताए।

नेता लामा विसं २०७६ साउन ५ गते काठमाडौँबाट पक्राउ परेका हुन्।

लामालाई विभिन्न जिल्ला हुँदै सङ्खुवासभा ल्याइएको थियो।

जिल्ला अदालत चैनपुरले सङ्गठितरूपमा हातहतियार ओसारपसार, सञ्चय तथा प्रयोग मुद्दामा रु २५ हजार धरौटी माग गरेको थियो।

धरौटी बुझाउन नसकेपछि जिल्ला अदालत चैनपुर विसं २०७६ फागुन ७ गते कारागार चलान गरेको थियो। विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो।

उनलाई परिवारको जिम्मामा छाडिएको छ। नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासङ्घको अध्यक्षसमेत थिए।

तर पार्टी विभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए। माओवादी जनयुद्धको क्रममा: उनका हातका केही औँलामा क्षति पुगेका छन् भने सुन्ने र देख्ने क्षमता पनि कमजोर बनेको छ।

उनले सयौँ क्रान्तिकारी गीत गाएका छन्। उनले सङ्गीत दिएको धेरै गीतमध्ये नेत्रविक्रम चन्द (विप्लव) को शब्द रहेको ‘कसले बनायो दाजै उडी जाने बस’ चर्चित मानिन्छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button