देशभर मनसुनी वायुको प्रभाव, कहाँ – कहाँ छ भारी वर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको संभावना रहेको जनाएको छ ।

महाशाखाले आज वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेकोले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशहरूका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । 
 
यसैगरी, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

ओढारभित्र भेटियो २२ नाल भरुवा बन्दुक

बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ ।

आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । 

जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको हवारीले जानकारी दिए।

प्रहरीले भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि स्थानीयवासीले डराएर ओढारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ ।

“बागलुङको पश्चिम क्षेत्रमा भरुवा बन्दुक लुकाउने र शिकार खेल्ने परिपाटी रहेछ, हामी निस्तेज पार्ने अभियानमा छौँ”, प्रनाउ हवारीले भने, “प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओढारमा त केहीले जङ्गलमा लुकाउन थालेका हुन् ।”

ओढारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।  

कर्णाली नदी छेउछाउका बस्ती बाढी पहिरोको उच्च जोखिममा

कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।

जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । 

कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् ।

कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए ।

“कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्”, उनले भने, “जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन् ।”
    
कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए ।

“विसं २०७३ मा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो”, उनले भने, “तर पनि उच्च जोखिममा रहेका नागरिक बस्ती सर्न मान्दैनन् ।” 

कालीकोटमा उच्च जोखिममा रहेका यी ठाउँका बजारवासी वर्षौंदेखि बसिरहेका कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि नदीको छेउछाउमा अहिले कयौँ ठाउँमा बजार बनेको नरहरिनाथ–१ लालीघाटका स्थानीय व्यापारी नेत्र विष्टले बताए ।

“लालीघाट बजार र नदी किनारको दूरी पहिले २५ मिटर थियो तर नदीमा आइतबार रातिदेखि पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ ।

यही गतिमा नदीमा पानीको बहाव बढ्दै गएपछि कुन बेला बजार डुब्छ थाहा छैन”, उनले भने, “यी नदी किनारमा बनेका बस्ती नयाँ हुन् । नागरिकहरू रोजीरोटीका लागि पनि जोखिम मोलेर नै व्यापार व्यवसाय गरिरहेका छन् ।”
 
कालीकोटको पचालझरना गाउँपालिकाको भुराबगर बजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए । “

बस्तीका नागरिकलाई अन्यन्त्र जानका लागि कयौँ पटक भनिसक्यौँ तर, उहाँहरू मान्नु हुन्न”, उनले भने, “बजार नै बनाएर बसेको कारणले उहाँहरुले मान्नुभएको छैन् । भोलि ठूलो जोखिम निम्तिन सक्छ ।”

जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा बजारहरु अन्यन्त्र सार्न आग्रह गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

“जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाख महिनादेखि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा बस्ती नै सार्न आग्रह गरेका छौँ”, उनले भने, “अटेरी गरेर बसेको ठाउँमा अहिले पनि जोखिमका विषयमा जानकारी दिएर सचेत गराइरहेको छौँ ।” कालीकोटमा गत वर्षमा बाढी पहिरोमा परी ५३ जनाले ज्यान गुमाउनुका साथै करोडौँको धनमाल नष्ट भएको थियो । एक हजार घरपरिवार विस्थापित भएका थिए ।

यस वर्ष वर्षायाम शुरु भएयता बाढी पहिरोमा परेर तीन जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button