देशको धेरै जनसंख्या मेरो साथमा छ : ओली

१० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् ।

आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ ।

केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’

उनले अघि भने, ‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’ एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।

नेता नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाए । अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको सन्दर्भमा आफूले धेरै भनिरहेको भन्दै ओलीले थप केही नभन्ने बताए ।

अरुको हकमा पार्टी एकतामा आउन आग्रह गर्दै उनले भने, ‘अब म आशा गरिरहेको छैन ।’

गण्डकीमा मन्त्रिपरिषद विस्तार गर्दा अक्ष्यम्य भूल भयो : शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मन्त्रिपरिषद विस्तारका क्रममा गण्डकी प्रदेशमा दलित समुदायप्रति अपमान भएको बताएका छन् ।

शुक्रबार मन्त्रिपरिषद विस्तारका क्रममा सांसद डोबाटे विश्वकर्मा मन्त्री हुने पक्का भए पनि पछि उनको ठाउँमा विन्दुकुमार थापा मन्त्री भएका थिए ।

त्यस घटनाप्रति इंगित गर्दै डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ‘गण्डकी प्रदेशको सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण हो ।

पार्टीले गरेको अक्षम्य भूल हो । दलित समुदायप्रतिको अपमान हो ।’

सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित बनाएको कोइरालाले बताएका छन् ।

‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ ।

 भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’ उनले प्रश्न गरेका छन् ।

कोइरालाले सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै नभई व्यवहार र लोकतान्त्रिक आचरण पनि भएको बताए ।

‘वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ’ डा. कोइरालाले भनेका छन् ।

उनले आगामी दिनमा यस्ता निर्णयहरु पार्टीको निम्ति निकै महंगो पर्न सक्ने भन्दै सचेत गराएका छन् ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button