दुईजिब्रे देउवा,बोली फेर्दै,सबैलाई चकित पार्दै
प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको ब्यवहारलाई लिएर अहिले उनकै पार्टीमा शंका छ ।
उनले प्रतिपक्षको भूमिका समेत निभाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र उनको बोली भाषणहरुमा ठ्याक्कै मिलेपछि ओलीसंग उनको कुनै गोप्य सहमति भएको आशंका धेरैको छ ।
प्रधानमन्त्री ओलीले उनलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएका कारण उनले सरकारको विरोध नगरेको आरोप लागेको हो । उनले संसद विघटन विरुद्ध ओली इतरका सबै दल सडकमा हुँदा पनि कडा प्रतिकृया दिएनन् । सर्वोच्चमा विचाराधिन विषयमा बोल्न नहुने भन्दै चुप बसे ।
कहिले प्रधानमन्त्री बन्न हतार गर्ने त कहिले प्रतिपक्ष निर्वाह गर्नु नै पार्टीको भूमिका हो भन्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले फेरी बोली फेरेका छन् । पार्टी बैठकमा अहिले नै सरकारमा जान हतार गर्न नहुने निष्कर्ष आएपछि उनले फेरी बोली फेरेर अब आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् ।
शनिवार काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन कार्यक्रममा आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् ।
‘म प्रधानमन्त्री हुने रेसमै छैन। प्रधानमन्त्री हुन चाहेको पनि छैन’, सभापति देउवाले भने, ‘विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो। तर मलाई प्रधानमन्त्री हुने चाहना पनि छैन।’
उनलाई आन्दोलनरत नेकपाका प्रचण्ड नेपाल पक्षले पनि प्रधानमन्त्रीको अफर गरेको बुझिएको छ । सबैतिरवाट अफर आएपछि उनले आवश्यकता परे जिम्मेवारी लिने बताएका थिए । तर अहिले बोली फेरेका हुन् ।
उनले देउवा प्रधानमन्त्री बन्दै छ भन्ने कुराको पछाडि नलाग्न आग्रह गरे। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाका दुवै समूहले सभापति देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गरेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।