दुईजिब्रे देउवा, कहिले ओलि ठिक त कहिले प्रचण्ड- माधव

२ माघ, काठमाडौं । पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवनको उद्घाटनमा ओलीप्रतिको देउवाको विश्वास डरमा बदलिएको छ । असंवैधानिक र अलोकतान्त्रिक कदम चालेर चुनावको घोषणा गरेपनि सहजै तोकेकै मितिमा चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको देउवाको बुझाइ छ ।

‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे । ओलीले कहाँ चुनाव गराउँछन् ? गराउँदैनन् । चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ’ देउवाको भनाइ थियो ।

यस्तै ओलीबाट अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम भएको देउवाको आरोप छ । यसअघि अदालतमा विचाराधीन मुद्दामा काँग्रेसको नबोल्ने नीति रहेको बताउँदै आएका देउवाले प्रधानमन्त्री ओली सडकमा बहस गर्दै हिँडेकोमा पहिलो पटक प्रश्न उठाएका छन् ।

‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?,’ देउवाको प्रश्न थियो ।

उनले न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्दामा काँग्रेसले पनि कुनै दबाब नदिने बताए । ‘अदालतले विवेक प्रयोग गर्ने नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन,’ देउवाको भनाइ छ ।

यस्तै देउवाले तत्कालका लागि नेकपाको दुवै पक्षसँग सहकार्य हुन नसक्ने बताएका थिए । प्रधानमन्त्री ओलीसँग पनि आफूले कुनै खालको सहमति नगरेको प्रस्ट पार्दै काँग्रेस संसद पुनःस्थापना र निर्वाचन दुवै विकल्पका लागि खुला रहेको देउवाको भनाइ छ ।

नेकपा २ भागमा विभाजित भएजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने देउवाको बुझाइ छ ।

तर प्रचण्ड – नेपालले भेटेपछि ओलीले चुनाव गराउने विश्वास नभए पनि चुनावको विकल्प भने देउवाले देखेका छैनन् । संविधान, लोकतन्त्र र जनअधिकारको रक्षार्थ ताजा जनादेशका लागि चुनावमा जानुको विकल्प नभएको भन्दै कार्यकर्तालाई चुनवाी तयारीमा जुट्न देउवाको निर्देशन भने रोकिएको छैन ।

‘प्रधानमन्त्रीको पार्टी चुनावमा जाने, हामी घरमै बसेर काम छैन । अदालतले जे फैसला गर्छ, हामी स्वीकार गर्छौं । अदालतले जनतामा जाने फैसला लिए के बिग्रियो त ? सर्वोच्चभन्दा जनता नै ठूलो अदालत हो । चुनावमा जाने निर्णय आयो भने काँग्रेस भाग्न हुन्न,’ देउवाको भनाइ थियो ।

नेकपा विभाजित भएको अवस्थामा चुनाव हुँदा काँग्रेस ठूलो दल बन्न सक्ने देउवाको बुझाइ छ । दुई वर्षपछि हुने चुनाव पाँच महिनापछि हुँदा केही फरक नपर्ने देउवाको तर्क छ । आन्दोलनका कार्यक्रम पनि चुनावमुखी बनाउन देउवाको निर्देशन छ ।

अदालतमा विचारधीन मुद्दा र नेकपाको दुई खेमाका सन्दर्भमा सभापतिको अभिव्यक्ति सन्तुलित आइरहेको उनको भनाइ छ । ‘अहिले तटस्थ बस्नु नै राष्ट्र र पार्टीको हितमा छ । पार्टीकै केही नेताहरुले प्रधानमन्त्री केपी ओलीजीलाई बल पुग्ने गरि सभापतिले बोल्नुभयो भन्नु भएको थियो । हिजोको अभिव्यक्तीलाई उहाँहरुको मागको सम्बोधनका रुपमा बुझ्नु न,’ एक पदाधिकारीले भने ।

नेकपाको कुनै पक्षका नेताको विश्वास बढ्ने वा घट्ने भन्दा पनि सभापति ‘पर्ख र हेर’को अवस्थामा रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button