दाहाल-नेपाल सडकमा गएर ठूलो भूल गरे : टोपबहादुर रायमाझी
४ माघ, काठमाडौं । ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले एकीकृत भएको नेपाल कम्युनिष्ट पार्टीलाई विभाजन गरेर पुष्पकमल दाहाल र माधव नेपालले गद्दारी गरेको आरोप लगाएका छन् । आफैंले बनाएको पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारलाई ढाल्न खोज्दा दाहाल–नेपाल आफैं सडकमा पुगेको उनले दाबी गरेका छन् ।
ओली पक्षीय नेकपाले शनिबार सन्धिखर्कमा गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले दाहाल प्रधानमन्त्री, माधव नेपाल पार्टी अध्यक्ष र झलनाथ खनाल राष्ट्रपति कसरी हुने भन्ने बाहेक अरु केही सोच नभएको दाबी गरे ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन नपाएपछि सडकमा दाहाल-नेपालले रोइलो गरेको बताए । ‘सरकारलाई सफल पार्ने, देशलाई समृद्धितर्फ लैजानेतर्फ उहाँ (दाहाल–नेपाल) को ध्यान पटक्कै छैन,’ उनले भने, ‘ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने लोभ बाहेक केही छैन । सडकमा गएर ठूलो भूल गर्नुभयो ।’
सडकमा गएर सिंहदरबारतिर ढुंगा हान्नु दाहाल नेपाल पत्तासाप हुने उनले दाबी गरे । काम गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गर्नुको विकल्प नभएको बताउँदै उनले हिम्मत भए अब वैशाखमा हुने चुनाव जितेर प्रधानमन्त्री बन्न दाहाललाई रायमाझीले चुनौती दिए । सत्ताको लोभी भएकै कारण आफूले दाहाललाई छाड्न बाध्य भएको मन्त्री रायामाझीले दाबी गरे ।