..त्यसपछि भीम रावललाई राति बालुवाटार बोलाइयो

आइतबार राति बालुवाटारमा बोलाइएका पुनर्बहालीप्राप्त उपाध्यक्ष भीम रावलले शुरुमा माधव नेपाललाई फोनमै खबर सुनाउनुभयो । र, अनुमति लिएरै पुग्नु पनि भयो ।

यो घटनासँग प्रधानमन्त्रीको मनमा सवार त्रासले मुख्य भूमिका खेलेको बताइन्छ । किनभने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता लिने अल्टिमेटम भोलिपल्ट अर्थात् सोमबार साँझ ५ बजे सकिँदै थियो तर हस्ताक्षर फिर्ताको चालचुल केही भएन ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शेरबहादुरपक्षीय रिटमाथिको सुनुवाई सकिँदै थियो (सकियो पनि) । र, मंगलबार फैसला आउने ‘पक्कापक्की’ छ भन्ने प्रधानमन्त्रीको बुझाई थियो । त्यसैले आइतबार बिहान विष्णु पौडेलसहित वार्ता टोलीका सदस्यलाई कोटेश्वरस्थित माधव नेपाल निवासमा पठाइयो ।

जब विष्णु पौडेलले ‘हामी ८ बजे आउँदैछौँ’ भनेर बिहान ७ बजे फोन गर्नुभयो, तब माधवले सीधै ‘आउनुस्’ भन्नुभएन । बरु ‘घनश्यामहरु पनि आउनुहुन्छ’ भन्नुभयो । अर्थात्, ओलीका मान्छे कोटेश्वर पुग्ने, आफूहरुले मात्रै भेटेर बाहिर अर्को भ्रम सिर्जना गरिदिने खतराप्रति माधव सचेत हुनुहुन्थ्यो ।

त्यसैले दुबै समूहका वार्ताकारलाई सँगै आउन भन्नुभयो । तर, त्यहाँ सबभन्दा पहिला घनश्याम भुषाल पुग्नुभयो ।

अदालतलाई प्रभाव पार्नकै निम्ति बालुवाटारबाट पठाइएको प्रस्ताव थियो, ‘हस्ताक्षर फिर्ता गर्ने कुरामा तपाईंहरु तयार नभए पनि केही फरक पर्दैन तर पार्टी एकताका निम्ति हामी प्रतिवद्ध छौँ भनेर तपाईं र केपी कमरेडको एउटा संयुक्त विज्ञप्ति आउनुप-यो ।’ विष्णु पौडेलबाट यस्तो प्रस्ताव आएपछि माधवले घनश्यामको मुख हेर्नुभयो ।

‘एकता नै भन्ने विषयमा त हाम्रो असहमति हैन नि ! तर, विज्ञप्ति दिएर मात्रै एकता हुँदैन । एकता हुनका लागि राखिएको हस्ताक्षर फिर्ताको शर्तमा हामी नजाने कुरा स्पष्टै छ ।

त्यो कुरा पनि थाती राखेर वक्तव्य दिने भन्नुभएको हो भने त दिने नि, किन नदिने ?’ अनि, माधवले कुरा फुकाउनुभयो, ‘तपाईंहरु ६ जनै बसेर विज्ञप्तिको ड्राफ्ट गर्नुस्, म हस्ताक्षर गरिदिन्छु ।’

त्यहाँबाट उठेर केपीपक्षीय टोली बालुवाटार पुग्यो । माधवका कुरा केपीलाई सुनाइयो तर बालुवाटारमा माधवलाई हस्ताक्षर गराउने भनिएको विज्ञप्ति पहिल्यै तयार पारिएको रहेछ । स्रोतका अनुसार, केपीकै खल्तीमा रहेको उक्त ड्राफ्टमा ‘पार्टी एकताको मूल्यमा विगतमा हामीबाट भएका सम्पूर्ण कमि–कमजोरी सच्याइने छ’ भन्ने प्रकारको भाषा थियो ।

केपीपक्षीय वार्ता टोलीका एक सदस्यले भने, ‘माधव कमरेडले त यो ड्राफ्ट ६ जनै बसेर बनेको हुनुपर्छ भन्नुभएको छ । यही ड्राफ्ट लगेर छलफल गरियो भने कुरा मिल्नेजस्तो देखिँदैन ।’ यसपछि केपीले ‘मिल्दैन भने मिल्दैन त, के गर्नु !’ भन्दै विरक्ति भाव दर्शाउनुभयो ।

अर्थात्, ‘कमि–कमजोरी सच्याइने’ नाममा उही हस्ताक्षर फिर्ताको अडानलाई माधव नेपालले मानिदिनुपर्ने अडान त्यहाँ थियो । यसर्थ, त्यो विज्ञप्ति जारी भएन ।

यसपछि नै हो, भीम रावललाई राति बोलाएर कार्यदल व्युँताउने सल्लाह भएको । भोलिपल्ट, अर्थात् अस्ति सोमबार पनि ५ बजेतिर ‘सिंहदरबारमा बसौँला’ भनेर कार्यदलका ओलीपक्षीय सदस्यहरुले भीम रावललाई खबर पठाए । यसमा पनि कारण थियो । यो समाचार जनआस्था साप्ताहिकमा छ ।

राजेन्द्र महतोको रहर…

नयाँ जोगीले बढी खरानी घस्छ, उसै भनिएको होइन । राजेन्द्र महतो २१ जेठमा उपप्रधानसहित शहरी विकास मन्त्री नियुक्त भए । दुई हप्तापछि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा पुगे र त्यहाँका कर्मचारीलाई क्वार्टरको व्यवस्थापन र मर्मत सम्भार गर्न निर्देशन दिए ।

विभागीय मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले हतार हतार सिनियर डिभिजनल इञ्जिनियर महालक्ष्मी जोशी र पवित्रा बस्नेतलाई ८ असारको दिन अध्ययनका लागि पुल्चोक पठायो ।

रमाइलोचाहिँ जुन दिन कर्मचारी मन्त्री क्वार्टरमा खटिए, सोही दिन सर्वाेच्चले मन्त्रीको पद खाइदियो ।

पुल्चोकस्थित मन्त्री क्वार्टर ०३२ सालमै बनेको हो, त्यहाँ ए देखि डीसम्म ४ वटा ब्लक छन् । मन्त्रीकै निर्देशन पाएपछि कर्मचारीले कहाँ के बिग्रिएको छ ? कुन सामग्री आवश्यक छ भन्ने ५ पन्ने प्रतिवेदन तयार पारेका छन् ।

प्रतिवेदनअनुसार सी फोर र डी २ ब्लकबाहेक अन्य ब्लक र क्वार्टरमा कतै पानी चुहिने, कतै फ्लस बिग्रिएको, बत्ती बिग्रिएको, प्यान फेर्नुपर्ने, ढलको पानी बाहिर बग्ने गरेकोलगायत समस्या छ ।

ए वानभित्र ५ वटा ब्लक छन् । जहाँ कुनै ब्लकमा गिजर, रंगीन माला बत्ती र स्यानिटाइजर मेसिन बिग्रिएको, मुख्य प्रवेशद्वारको जाली फेर्नुपर्नेदेखि वाइफाइको राउटर बिग्रेको समस्या टिपोट गरिएको छ ।

यस्तै, ब्लक बीभित्र रहेका ४ वटा क्वार्टरमा कतै किचन र बैठक कोठामा पानी चुहिने, कोठाको बत्ती बिग्रेको, किचेनको पाइप बिग्रेकाले पानी जाम हुने, ढलबाट पानी पास नभई बाहिर जाने, डोरम्याट नआएको समस्या टिपोट भएको छ ।

ब्लक सीभित्र ५ वटा भवन रहेकोमा प्रिन्टर, टेलिफोन सेटको अभाव, वाइफाइको स्पिड कम भएको, मास्टर बेडको गलैंचा नआएकोजस्ता समस्या देखिएको छ ।

डी ब्लकमा ५ वटा भवन रहेकोमध्ये टि–टेबल बिग्रेको, एसी नचल्ने, पानी चुहिने, इन्भर्टर किन्नुपर्ने, कम्प्युटरमा करेन्ट लाग्नेलगायत समस्या छ । दिउँसोसम्म सबै टिपोट तयार पारी प्रतिवेदन तयार पार्दासम्म मन्त्री नै भूपू भइसकेका थिए । 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button