तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्ने देखियो : बाबुराम भट्टराई
९ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी बैशाखमा चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।
प्रेस नेपालले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरंकुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधि सभा विघटन गरिएको भन्दै संसद पुःस्थापना नभई चुनाव हुन नसक्ने दावी गरे ।
प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद पुनःस्थापना गर्नुपर्नेमा भट्टराईले बताए ।
‘संसद विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो,’ भट्टराईले भने, ‘नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ, त्यसले मात्रै संसद पुनस्थापना गर्नसक्छ ।’
ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईको धारणा छ । नेपाली कांग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुंगो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको भट्टराईले बताए ।