ढुक्क हुनुस, तोकिएको मितिमा निर्वाचन हुन्छ : राष्ट्रपति भण्डारी
६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ ग्रहण गर्दै उनले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको हुँदा तोकिएको समयमा नै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरूरी भएको बताएकी हुन्।
राष्ट्रपति भण्डारीले स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भिरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्दै निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम आयोगको भएको बताइन्।
निर्वाचनमा बढीभन्दा बढी मतदाताहरूको सहभागिता गराउन, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न र मतदानस्थल तथा केन्द्र मतदातामैत्री बनाउन उनले सुझाव दिइन्। सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेको छ।
राष्ट्रपति समक्ष आयोगले पेश गरेको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्मा छलफलका लागि पेश गर्ने संवैधानिक व्यवस्था छ।
आयोगललाई राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभा सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यको निर्वाचन गराउने सवैधानिक जिम्मेवारी छ।
प्रतिवेदनमा मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षा तथा तालीम, सूचना प्रविधि तथा प्रणाली व्यवस्थापन, कानून तथा राजनीतिक दल व्यवस्थापन, वित्तीय स्रोत परिचालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनलगायत विविध विषय समावेश छ।