ज्ञानेन्द्रसँग लडेर अएका हौं, सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छः वर्षमान पुन
२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले ज्ञानेन्द्रसँग लडेर आएका आफूहरू सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन्।
संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड-नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरू ओली र रामबहादुर थापासँग नतर्सने उल्लेख गरे।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङ्कर गुडाएर तर्साउन खोजिएको पुनको आरोप थियो।
ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरूलाई उठाएर हिरासतमा राख्ने बताए।
केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाउन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए।
सेना र प्रहरीजस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे।
‘सेनाका बख्तरबन्द गाडी र ट्याङ्कर निकालेर जनता तर्साउन खोजिएको छ। हामी सबै लडेर आएका छौं। जनता लडेर आएको छ,‘ पुनले भने,‘ खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन्। पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ र कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ?’
पुनले मुलुकमा राजतन्त्र र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षित र सचेत रहेकाले धम्कीसँग नडराउने बताए।
राज्य शक्तिको दुरूपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की दिन बन्द गर्न चेतावनी दिए।
‘ज्ञानेन्द्र देशैभर र्याली गर्दै हिँडे। लाखौं जनता महाराज भन्दै जान्थे। बुझें, सुनें भन्दै टाउको हल्लाएर हिँडेका थिए। आज कहाँ टाउको हल्लाउँदै हिँडेका छन् थाहा छ कि छैन?,‘ पुनले भने,‘ जसले राज्यशक्तिको दुरूपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ।’
निरंकुश सत्ता चलाउन खोज्दा बाउबाजेको पालादेखि २ सय ४० वर्षसम्म शासन गरेको सेना, पुलिस मेरै हो, राज्य मेरै हो भनेर हिँडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाव दिए।
आफूहरूको आन्दोलन केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंकुशता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको बताए। तर, सत्ताका लागि आन्दोलन भन्ने आरोप लगाइएकामा आपत्ति जनाए।
‘म ओली सरकारमा मन्त्री थिएँ, तर लोकतन्त्र बचाउन राजीनामा दिएर सडकमा आएको हुँ। सत्ताको लडाइँ होइन, लोकतन्त्रका लागि हो।’
आन्दोलन र आमहड्ताल रहर नभएको भन्दै देशको नेतृत्वको गरिराखेका प्रधानमन्त्रीबाटै संविधान र लोकतन्त्रमाथि प्रहार भएकाले बाध्य हुनुपरेको उनको भनाइ थियो।
पुनले प्रधानमन्त्री ओलीले निर्वाचनका कुरा गरे पनि असंवैधानिक रूपमा नियुक्त सदस्यहरू सहभागी भएर गरिने निर्वाचन कसरी निष्पक्ष हुनसक्छ भन्ने प्रश्न गरेका थिए।
सरकारमा बसेर प्रदर्शन र प्रतिरोध गर्न छाडेर अस्पताल बनाउन, चिकित्सकहरूको नियुक्ति गर्न, कोरोनाको औषधि निःशुल्क वितरण गर्न पुनले सुझाव दिए।