जो पनि डाक्टर !

अनिल ढकाल/चितवन, सीताराम गुरागाईं/ताप्लेजुङ, भरत खड्का/उदयपुर

चितवनको राप्ती नगरपालिका–१२ स्थित यौरालीटारमा लोथर स्वास्थ्य चौकी छ।

बिरामी त्यति नजाने भएकाले सुनसान प्रायः हुन्छ। तर, त्यही स्वास्थ्य चौकीबाट सय मिटर दूरीमा रहेको मेडिकलमा जँचाउन पालो पर्खिनुपर्छ।

मेडिकलमा बिहीबार पनि एक जना व्यक्ति स्टेस्थोस्कोप लिएर बिरामी जाँचिरहेका थिए। उनी भनिरहेका थिए– ‘छाती हल्का खराब छ, यो एन्टिबायोटिक हो। यहाँसम्म पानी हालेर हल्लाएर खुवाउनु ठीक हुन्छ।’ 

बिरामीका आफन्त उनलाई ‘डाक्टर’ ठानिरहेका थिए। तर, उनी त स्वास्थ्य चौकीकै कार्यालय सहायक कृष्णबहादुर तामाङ पो रहेछन्। बिरामी र उनीहरूका आफन्त कार्यालय सहायक तामाङलाई डाक्टर ठानेर आफ्ना स्वास्थ्य समस्या सुनाइरहेका थिए। तामाङ सेवाग्राहीका कुरा सुन्थे अनि बिरामी जाँच्थे। 

तामाङले बिरामी जाँच्ने मात्रै होइन, औषधि पनि दिने रहेछन्। यसबारे उनले भने, ‘पढाइ त ८ कक्षा हो। मैले २०५१ सालदेखि स्वास्थ्य चौकीमा काम गरेँ। त्यहाँ सरहरूले सिकाएर बिरामी जाँच्न जानेको हुँ। मैले जाँचेर धेरैलाई ठीक बनाएको छु।’ 

स्वास्थ्य चौकीमा लामो समय काम गरेको आधारमा आफूलाई अनुभव भएको उनले बताए। निमोनिया, रुघाखोकी, ज्वरोका बिरामी निको पार्ने गरेको उनको भनाइ छ। 

‘रुघाखोकी, ज्वरो, निमोनिया, पखालाको उपचार मैले गर्छु। यो बाहेकका बिरामीलाई मैले सकिनँ भने सरलाई बोलाउने अनि उहाँहरूले रिफर गर्दिनुहुन्छ’, उनले भने, ‘हामी पालैपालो आएर चलाउँछौं। अहिले स्वास्थ्य चौकीमा दुई जना मात्रै भएकाले मलाई पठाउनुभएको हो।’ 

खासमा उनको काम बिहान स्वास्थ्यचौकी खोल्ने, सरसफाइ गर्ने र पानी भर्ने हो। त्यसपछि अर्को ड्युटी रहेछ, मेडिकलमा गएर बिरामी जाँच्ने। स्वास्थ्य चौकीकै कर्मचारीले उनलाई त्यता पठाउँछन्। मेडिकलमा बिरामी आएको खबर आउनासाथ उनी दौडिहाल्छन्।

जँचाउन पुग्नेहरूलाई उनी डाक्टर हुन् कि पियन भन्ने थाहा हुँदैन। बिरामीसँग सोधपुछ गरेर अनुमानका भरमा औषधि दिन्छन्। 

स्वास्थ्य चौकीमा गए पनि औषधि लिन फेरि आउनुपर्ने भएकाले सोझै मेडिकल आएको बिरामीका आफन्त बताउँछन्। ‘त्यहाँ गए पनि यही पठाउँछन्’, ज्वरो आएको छोरालाई जँचाउन दुई घण्टा हिँडेर आएका राम प्रजाले भने, ‘सबै औषधि यही लिन आउने भएप्छि त्यहाँ नगएको।’ 

उनले स्वास्थ्यकर्मीसँग मिलेर उक्त मेडिकल सञ्चालन गरेको खुलेको छ। मेडिकलमा तामाङसहित स्वास्थ्यचौकीका इन्चार्ज महेश भट्टराई, अहेव समीक्षा श्रेष्ठ, सिनियर अनमी सुनिता गुरुङ, अनमी सुस्मिता थापाको लगानी रहेछ। 

तामाङले दिनभर मेडिकलको व्यापार बढाउँछन्। हरेक महिना आएको नाफा बराबर बाँड्छन्। उनले आफ्नै घरमा मेडिकल राखेका छन्। त्यसबापत उनले घर भाडा लिँदैनन्। पालो लगाएर मेडिकलमा बिरामी जाँच्छन्। अहेव श्रेष्ठले एक जनाले १० हजार रुपैयाँ लगानी गरेको बताइन्। 

उनीहरूले बिरामीलाई सकेसम्म मेडिकलमा बोलाउँछन्। स्वास्थ्य चौकीमा जानेहरूलाई बिरामी पुर्जी पनि दिँदैनन्। कागजको टुक्रामा औषधिको नाम मात्रै लेखेर औषधि किन्न पठाउने गरेको पाइएको छ। अहेव श्रेष्ठले चेपाङहरूले च्यातेर फाल्ने हुनाले बिरामी पुर्जा नदिएको बताइन्। 

‘यहाँबाट मेडिकलसम्म पुग्दा च्यातिहाल्छन् भनेर पुर्जा नदिएको’, उनले भनिन्, ‘औषधी लिने त हो।

त्यसैले चिटमा औषधीको नाम लेखेर दिन्छौं।’ यसअघि आउनेहरूले यही गरेको भएर आफूहरूले यस्तै गरेको उनले बताइन्। 

पूर्व–पश्चिम राजमार्गको भण्डाराबाट करिब ३५ किलोमिटर उत्तरतर्फ पर्छ यौरालीटार। राप्ती नगरपालिकाका वडा नम्बर १२ र १३ चितवन जिल्लाकै विकट भेग हुन्। छिमेकी जिल्ला मकवानपुरको राकसिराङबाट पनि बिरामी उपचारका लागि यहाँ आउँछन। पियनसँग स्वास्थ्य जाँच गराएर फर्किन्छन्। 

अधिंकाश चेपाङको बसोबास भएको क्षेत्रमा स्वास्थ्यकर्मीले ठगी धन्दा चलाउँदै आएको देखिन्छ।

स्वास्थ्य चौकीमा मुस्किलले १० जना पुग्छन्। त्यसको दोब्बरभन्दा बढी मेडिकल जान्छन्। स्वास्थ्य चौकी आएका बिरामीलाई स्वास्थ्यकर्मीले नै मेडिकल पठाउँछन्। 

सबै औषधि स्वास्थ्य चौकीमा पाइँदैन पनि। केही बाहिर किन्नुपर्छ। यौरालीटारको मेडिकलमा नगए गाडी चढेर दुई घण्टामा भण्डारा पुग्नुपर्छ। यसको मौका छोपेर दर्ता नै नगरी औषधि पसल चलाइरहेका छन्।

यसको नियमन हुन सकेको छैन। स्वास्थ्य चौकीका इन्चार्ज भट्टराईले सुरुमा कुरा लुकाउन खोजे। तर, प्रमाण नै देखाएपछि आफूहरूले लगानी गरेर बिनादर्ता सञ्चालन गरेको भट्टराईले स्वीकार गरे। तर, पियनले बिरामी जाँच गरेको कुरा उनले स्वीकार गरेनन्। 

‘हामीले दिएको प्रेस्क्रिप्सनअनुसार औषधि दिने हो। बिरामीले दर्ता नगरी औषधि मागे भने सामान्य चिटमा लेखेर दिन त पर्‍यो नि’, भट्टराईले भने, ‘कतिपय कुरा तपाईंले भनेको कुरा सत्य होला। म त्यहाँ जानुभन्दा अघि पनि त्यसरी नै चलेको रहेछ, हामीले पनि चलाएका हौ। ’ 

स्वास्थ्य चौकीमा बिरामीको उपचार गर्न सुविधासम्पन्न भवन छ। विद्युत् अभावमा ल्याब सञ्चालन गरिएको छैन। भौतिक पूर्वाधार भए पनि उपकरण पर्याप्त छैन। 

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले यो विषयमा छानबिन गर्ने बताइन्। ‘मेडिकल दर्ता नगरी चलाउनु र स्वास्थ्यकर्मीको काम कार्यालय सहायकले गर्नु दुवै गलत हुन्’, बरालले भनिन्, ‘तपाईंहरू प्रमाणसहित आएको कुरालाई हामी बुझेर अघि बढ्छौं। यसलाई सामान्य रूपमा लिँदैनौं।’

डाक्टर पाउनै मुस्किल
ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित तेम्बे प्राथमिक स्वास्थ्य केन्द्र तीन वर्षदेखि डाक्टरविहीन छ।

यहाँको स्वास्थ्य सेवा एचए, अहेव र अनमीका भरमा चलिरहेको छ। डाक्टर नहुँदा सामान्य बिरामी पर्दा पनि जिल्ला अस्पताल र तराईका अस्पताल जानुपर्ने बाध्यता छ।

रेडियोलोजी एक्सरे, ल्याब र यूएसजी, शल्यक्रियासहितको प्रसूति सेवा प्रदान गर्नुपर्नेमा स्थानीयले आधारभूत सेवा नै पाउन मुस्किल छ। 

कोरोना महामारीले आक्रान्त बनाइरहेका बेला पनि गाउँपालिकाले डाक्टरको व्यवस्था गर्न नसकेको स्थानीय बिमला लिम्बूले बताइन्।

‘कोरोनाको सामान्य लक्षण देखिँदा पनि स्वास्थ्य परीक्षणका लागि महँगो रकम तिरेर बाहिर जानुपरेको छ’, लिम्बूले भनिन्, ‘प्राथमिक स्वास्थ्य केन्द्र नाम मात्रैको भयो।’ कोरोनाका बिरामी र सुत्केरी, गर्भवतीलाई धेरै समस्या भइरहेको उनले सुनाइन्।

शवको पोस्टमार्टमका लागि पनि सदरमुकाम पुग्नुपरिरहेको अर्का स्थानीय किरण लिम्बूले सुनाए। 

पटक–पटक प्रयास गर्दा पनि डाक्टर राख्न नसकिएको मैवाखोला–२ का वडाध्यक्ष सुरेन्द्र लिम्बूले बताए। ‘मैले सकेजति प्रयास गरेँ। तर, गाउँपालिकाले साथ नदिएपछि सकिनँ’, वडाध्यक्ष लिम्बूले भने। गाउँपालिकाले नै डाक्टर ल्याउन चासो नदेखाएको उनको गुनासो थियो। 

सिदिङ्वा र मिक्वाखोला गाउँपालिकाले पनि कोभिड अस्पतालमा डाक्टर राख्न सकेका छैनन्। नर्सका भरमा अस्पताल सञ्चालन गर्नुपर्ने अवस्था छ। डाक्टर भेट्न  सदरमुकाम फुङलिङ आइपुग्नुपर्छ।

सिरिजंघा, आठराई त्रिवेणी, पाथीभरा याङ्वरक, मेरिङ्देन र फक्ताङलुङ गाउँपालिकाले भने पाँचपटक विज्ञापन खुलाएर डाक्टर राखेका छन्। तलब स्केलमा मासिक ५० हजार रुपैयाँ र प्रोत्साहन भत्तासमेत थपेर डाक्टर राखेको आठराई त्रिवेणीका अध्यक्ष विश्वनाथ सिटौलाले बताए। 

जिल्ला अस्पतालसहित ताप्लेजुङमा ५३ स्वास्थ्य संस्था छन्। अधिकांशमा करारका स्वास्थ्यकर्मी कार्यरत छन्। ‘दुर्गम भन्दै स्थायीमा आउन नमानेपछि करारमा राखेर काम चलाइरहेका छौं,’ सिटौलाले भने, ‘सर्वसाधारणले उपचारका लागि राम्रा डाक्टर भेट्न सदरमुकाम पुग्नुपर्ने अवस्था छ।’

यस्तै, प्रशासनिक हिसाबले उदयपुर जिल्ला ‘क’ श्रेणीमा छ। तर, स्वास्थ्य सेवा भने निकै कमजोर छ। ५ बिघा क्षेत्रफल ओगटेको १५ बेडको जिल्ला अस्पताल स्थापनाको ३२ वर्षपछि २०७० सालमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट ५० बेडमा परिणत भयो।

क्षमता वृद्धिसँगै आवश्यक जनशक्तिका लागि दरबन्दी सिर्जना गरे पनि मन्त्रालय र विभागले दक्ष प्राविधिक कर्मचारी पठाउन नसक्दा अस्पतालको विशेषज्ञ सेवा प्रभावकारी हुन नसकेको कर्मचारीले बताए।  

अस्पतालमा ११ औं तह प्रमुख कन्सल्टेन्ट १, विशेषज्ञ ९, मेडिकल अफिसर ४ र अन्य प्राविधिक र कर्मचारी गरी ५९ जनाको दरबन्दी रहेको अस्पतालका सूचना अधिकारी विर्षबहादुर खत्रीले बताए। उनका अनुसार दरबन्दी धेरै भए पनि अस्पतालमा स्थायी नियुक्तिका विशेषज्ञ हालसम्म एकै जना पनि छैनन्। 

विशेषज्ञ चिकित्सक नआएपछि अध्ययन सकेर प्राक्टिकल (सिकाई अभ्यास) गर्न आएका दुई जना विशेषज्ञ चिकित्सकको भरमा अस्पताल छ।

माथिल्लो तहका स्थायी चिकित्सक नआएपछि मेडिकल अधिकृत डाक्टर जीवनारायण मण्डललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ। 

छात्रवृत्ति पाएर अभ्यासका लागि आएका मेडिकल अधिकृत पनि अभ्यास शिक्षणको समय सकिएकाले रिक्त रहेको खत्रीले बताए।

विशेषज्ञ ल्याउनका लागि प्रदेश र संघीय सरकारमा पटक–पटक कुरा उठाए पनि आश्वासन मात्रै पाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले बताए।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button