चीनबाट ल्याइएको कोरोना खोप क–कसले पाउँछन् ?
२५ असार, काठमाडौं । चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।
चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ ।
यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले अनलाइनखबरसँग भने, ‘खोप लगाउन ६० देखि ६४ वर्ष उमेर समूह पहिलो प्राथमिकतामा छन् । त्यसपछि ५५ देखि ६० वर्षकालाई र अन्य समूहलाई दिन्छौं । तर अन्य समूहबारे भने निर्णय भइसकेको छैन ।’
उनले चीनबाट ल्याइएको खोप प्रदेशका भण्डारण स्थलमा पठाउन पनि तत्काल सुरु गरिने बताए । ‘खोपको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्ने काम सकिनासाथ प्रदेशहरुमा पठाउँछौं,’ उनले भने ।
खोपलाई निश्चित तापक्रममा राख्नु पर्ने हुन्छ । त्यसका लागि पर्याप्त ठाउँ नभएकाले चीनबाट आउनासाथै काठमाडौं उपत्यका बाहिर खोप पठाउन सुरु गरिने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।
नेपाल ल्याइएको खोप त्रिभुवन विमानस्थलको चिस्यान भण्डारणमा राखिएको छ । टेकु र पथलैयामा पनि केन्द्रीय स्तरका भण्डारण केन्द्र छन् । हेटौंडा, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा क्षेत्रीय स्तरका भण्डारण केन्द्रहरू छन् ।
यदि खोप राख्ने स्थान अभाव भएमा निजी वा अन्य सरकारी कार्यालयका भण्डारण केन्द्रमा खोप राख्ने योजना रहेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
भण्डारण केन्द्रमा खोप पुर्याइसकेपछि जिल्ला–जिल्लामा खोप लगाउन सुरु गरिने सरकारको योजना छ ।
चिनियाँ भेरोसेल खोप दुईदेखि आठ डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्न सकिन्छ । नखोली राखिएको यो खोप दुई वर्षसम्म प्रयोग गर्न सकिन्छ ।
यदि सिल खोलेर खोप लगाउन सुरु गरियो भने छ घण्टाभित्र खोप दिइसक्नुपर्ने जानकारहरु बताउँछन् । भेरोसेल खोप दुई डोज लगाउनुपर्छ ।
शरीरको तापक्रम र श्वासप्रश्वासको गति आफैँले कसरी नाप्ने ?
मान्छेलाई बिरामी हुन लागेको संकेत उसका शारीरिक अंगहरूले दिने गर्छन् । मान्छेले आफैँ कमजोर महसुर गर्ने र विभिन्न किसिमका दुखाइबाट हामीले शरीरमा स्वास्थ्य समस्याबारे पहिचान गर्न सक्छौं ।
जब कुनै व्यक्ति बिरामी हुन्छ वा उसलाई स्वास्थ्य समस्या आइपर्छ तब उसका प्रमुख शारीरिक (भौतिक) चिह्नहरूमा परिवर्तन आउन थाल्छ । त्यही शारीरिक चिह्नहरूमा हुने परिवर्तनबाट हामीले उसको स्वास्थ्य समस्या पहिचान गर्न सक्छौं ।
गाउँघरमा जसरी निधार छामेर ज्वरो पत्ता लगाउने होस् या त नाडी बिचार गर्ने चलन पहिलेदेखि नै चल्दै आएको हो ।
सामान्यतया आफ्नो शरीरको तापक्रमलाई थर्माेमिटरबाट कसरी परीक्षण गर्ने र श्वासको गति कसरी नाप्ने भन्नेबारे सामान्य जानकारी तल दिइएको छ ।
तापक्रम कसरी नाप्ने ?
यदि कुनै व्यक्तिलाई ज्वरो छ कि छैन भनेर जाँच्न थर्माेमिटर छैन भने बिरामीका निधारमा उल्टो हातले छामेर आफ्नो शरीरको तापक्रम जाँच्न सकिन्छ ।
यदि बिरामीको शरीर अर्काे व्यक्तिको शरीरभन्दा बढी तातो भएको अनुभव हुन्छ भने उसलाई ज्वरो आएको हुन सक्छ भन्ने आधारभूत परीक्षण विधि हो ।
तर यसमा नै पूरा भर पर्ने भन्दापनि आफ्नो शरीरको अवस्था अनुसार परीक्षणको लागि अस्पताल जाने नजाने निधो गर्नुपर्छ ।
थर्माेमिटर छ भने शरीरको तापक्रम मुख, काखी वा गुद्द्वारमा राखेर नाप्न सकिन्छ । कुनैपनि व्यक्तिको काखीमा मुखमा भन्दा कम तापक्रम हुन्छ । मुखमाभन्दा गुद्वार बढी तातो हुन्छ । ज्वरो नाप्दा सेन्टिग्रेट वा फरेनहाइटमध्ये कुनै माप चिह्न भएको थर्माेमिटर प्रयोग गर्न सकिन्छ ।
ज्वरो कसरी नाप्ने ?
– थर्माेमिटरलाई साबुन पानी वा अल्कोहलले सफा गर्नुहोस् । रातो वा चाँदीको रंग नभएको टुप्पोमा थर्माेमिटरलाई समातेर तापक्रम ३६ डिग्रीभन्दा कम नभएसम्म झड्कार्नुपर्छ ।
–थर्माेमिटरलाई जिब्रो मुन्तिर राखी मुख बन्द गर्नुपर्छ । वा बिरामीले थर्मामिटर टोक्ने डर भएमा काखीमा राख्नु पर्छ ।
–तीन वा चार मिनेटसम्म त्यसै राख्नुपर्छ ।
–झिकेर नाप पढ्नुपर्छ ।
–थर्माेमिटरलाई साबुन र चिसो पानीले धुनुपर्छ र सम्भव भएमा २० मिनेटसम्म क्लोरिनको घोललाई डुबाई सफा पानीले धुनुपर्छ ।
श्वासको गति नाप्ने तरिका
सास फेर्ने गतिले फोक्सो र सास फेर्ने प्रणालीको अवस्थाबारे बताउँछ । यसले व्यक्तिको सामान्य स्वास्थ्यबारे पनि सूचना दिन्छ । सास फेर्ने गति लिन व्यक्तिले आराम गरिरहेको अवस्थामा उसको छाती तलमाथि गरेको हेर्नुहोस् ।
वयस्क व्यक्तिका निमित्त सामान्य सास फेर्ने गति एक मिनेटमा १२ देखि २० चोटिसम्म हुन्छ । सास फेर्ने गति भनेको एकपटक सास लिने र छोड्ने हो ।
संक्रमण, ज्वरो, रक्तस्राब वा जलवियोजन, क्षोभ, फोक्सोको समस्या वा अन्य आकस्मिकताको अवस्थामा नाडीसँगै सास फेर्ने दरमा पनि बृद्धि हुन्छ ।
असाध्यै बिरामी हुँदा नाडी र सासफेराइको दर अति नै कम भएमा बिरामीको मृत्यु समेत हुन सक्छ । चाँडो तथा छोटो सास फेराइ श्वासप्रणालीको संक्रमणको चिह्न हुन सक्छ । बिरामीले प्रतिमिनेट ३० चोटि वा त्यसभन्दा बढी सास त्यो निमोनियाको चिह्न हुन सक्छ ।