चितवन प्रहरी भन्छ-सुजिताको परिवारसँग भेट्नै सकस भयो, अनुसन्धान गर्नै गाह्रो भयो

सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले भण्डारीको परिवारसम्म पुग्नै सकस भइरहेको बताएको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अधिकारीले न्याय प्राप्तिको प्रक्रिया चलिरहँदा त्यसलाई पूरा गर्नमा अवरोध खडा गरिएको बताए।

अपराध अनुसन्धानको कुरालाई लिएर सडकमा आवागमन बन्द गराइदिने काम भएको छ,’ उनले भने, ‘हामीलाई सूचना दिएर सहयोग गर्नुपर्ने समाज नै यसमा लगेपछि अनुसन्धानमै बाधा परिरहेको छ।’

उनले प्रहरीले तथ्यमा आधारित भएर अनुसन्धानको निष्कर्ष निकाल्नुपर्नेमा प्रक्रियामा जानै नदिइएको गुनासो गरे।

दुःखको साथ भन्नुपर्छ हामी प्रक्रियामा जानै नपाएको अवस्था हो। फेरि पनि न्यायको कुरा उठिरहेको छ,’ उनले भने, ‘भनाइ र गराइमा तालमेल मिलेको छैन।’

उनले प्रहरीले पीडित परिवारलाई जसरी भेटन पाउनुपर्दथ्यो त्यो नपाइएको बताए।

प्रहरीलाई मृतकको परिवारसम्म पुग्न जिल्ला बाहिरका मान्छेहरू आएर अवरोध गरिरहेको उनले बताए।

ती मान्छे को हुन् भन्ने नखुलाइ उनले भने, ‘काठमाडौंमा फ्लेक्स प्रिन्ट गरेर पोको पारेर, यहाँ बास बसी समूह तयार पारेर अनुसन्धानमा अवरोध गरिएको छ।’ 

एसपी अधिकारीले अनुसन्धानमा खट्नुपर्ने प्रहरी कर्फ्यू व्यवस्थापनमा खट्नुपरेको बताए।

‘म अनुसन्धानमा ध्यान दिनुपर्ने मान्छे कर्फ्यू व्यवस्थापनमा खट्नुपरेको छ, अनि फेरि अनुसन्धानमा प्रगति के भयो भनेर तुरून्तै जवाफ पनि दिनुपर्ने छ,’ एसपी अधिकारीले भने, ‘असाध्यै अप्ठ्यारो अवस्था छ।’

उनले मृतकका परिवार प्रहरीलाई सहयोग तयार रहे पनि अन्यले माहोल भड्काउने काम गरेको बताए।

‘हामीले सुजितालाई बचाउन त सकेनौं तै पनि अनुसन्धानमा परिवारका सदस्य सन्तुष्ट छन्, बाहिर कसले के गरिरहेको छ उनीहरूलाई राम्ररी थाहासमेत छैन’ उनले भने, ‘तर प्रहरी र परिवारका बीचमा राम्ररी कुरा हुने माहोल अझै बनेको छैन। आज पनि हामी जाँदैछौं।’

पत्रकार सम्मेलनमा एसपी अधिकारीले असार ११ गते सुजिता र परिवारका सदस्यबीच मोबाइलमा पटक–पटक कुराकानी भएको पाइएको बताए।

सुजिताले मोबाइलमा ‘डाटा प्याक’ समेत लिएको अनुसन्धानमा भेटिएको छ।

जिल्ला प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको र पोस्टमार्टमको भिसेरा रिपोर्ट आएपछि थप कुरा आउने उनले बताए। पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा सुजिताको हत्या भएको देखिएको थिएन।  

सुजिताको शव फेला परेपछि उनको गाउँ राप्ती–३ मा राजमार्ग अवरोध गरी स्थानीयबासी आन्दोलनमा उत्रिएका थिए।

उनको हत्या भएको भन्दै आन्दोलन गर्न विभिन्न ठाउँबाट महिला अधिकारकर्मीहरू यहाँ आइपुगेका थिए।

उनीहरूको उपस्थितिपछि माहोल उत्तेजित बनेको थियो। स्थिति नियन्त्रण बाहिर जाने अवस्था देखेपछि जिल्ला प्रशासनले त्यस क्षेत्रमा मंगलबार रातिदेखि कर्फ्यू आदेश जारी गरेको छ। बिहीबार पनि कर्फ्यू जारी छ।

चितवनमा असार ३१ सम्म निषेधाज्ञा थपिए पनि यी क्षेत्र खुकुलो

चितवन स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो। निषेधाज्ञा असार ३१ गते राति १२ बजेसम्म जारी रहनेछ।

निषेधाज्ञा थप भए पनि केही क्षेत्र खुकुलो पारिएको छ।

आदेशानुसार शुक्रबारदेखि होटल तथा खाजाघर टेक अवे र होमडेलिभरी सेवा दिने गरी बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

होटल तथा लज स्वास्थ्य मापदण्ड पालना गरी कूल कोठाको एक तिहाइ सङ्ख्या नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको छ। कोठा प्रत्येक दिन अनिवार्यरूपमा निसङ्क्रमण गर्नुपर्नेछ।

यस्तै, अब बजार दैनिक आठ घण्टा खोल्न पाइने भएको छ।

आदेशमा भनिएको छ, ‘शुक्रबारदेखि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसल, भाँडा, कपडा, फेन्सी, कम्प्युटर, कस्मेटिक तथा गिफ्ट, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्ट्स, जुत्ता चप्पल, टेलरिङ, प्रेस तथा फोटोकपी पसल बिहान ११ देखि साँझ ७ बजेसम्म खोल्न पाइनेछ।’

यसअघि साताको तीन दिन दिउँसो १२ देखि ६ बजेसम्म छ घण्टा मात्रै खोल्न पाइने व्यवस्था थियो।

प्रशासनले शुक्रबारदेखि बारअनुसार खुल्ने व्यवस्था हटाएको हो। यसबाहेक अत्यावश्यक सेवा दिने खाद्यान्न, तरकारी तथा फलफूल, दूध, माछा मासु, औषधि, ग्यास, निर्माण सामग्रीसम्बन्धी पसल तथा पुस्तक पसलमा पनि लगाइएको समय सीमा हटाइएको छ। अब यी पसल दैनिक खोल्न पाइनेछ।
 
प्रशासनले यसअघिको अदेशमा नै सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न पाइने निर्णय गरेको थियो।

प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय तथा यातायात कार्यालयले बारअनुसार सेवा दिइरहेका छन्। अन्य सबै सरकारी कार्यालयले पनि स्वास्थ्य मापदण्ड पालना गरेर सेवा प्रवाह गरिरहेका छन्।

कार्यालयले जारी गरेको आदेशमा स्थानीय रुटमा चल्ने सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीअनुसार सञ्चालन गरिने जनाइएको छ।

सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई प्रवेश निषेध गर्ने गरी जोर बिजोर प्रणाली लागू गरिएको हो। रासस

भिर खोपेर बनाएको पुलसम्म पुग्ने बाटो बगायो बूढीगण्डकीले

बूढीगण्डकीको बाढीले गोरखाको केरौंजास्थित यारूबगर कटान गर्दा चुमनुब्री गाउँपालिका आवतजावत गर्ने एकमात्र बाटो बगाइदिएको छ।

भूकम्पपछि बेलायती सहयोग नियोग युकेएडले पहरा खोपेर बनाएको एक सय १५ मिटर लम्बाइको क्यान्टिलिभर पुल बूढीगण्डकी कटानले जोखिममा पारेको स्थानीय बासिन्दा बताउँछन्।

‘क्यान्टिलिभर पुल नबगाए पनि जोखिममा छ। पुलसम्म पुग्ने बाटो नै बूढीगण्डकीको भेलले बगाइदिएको छ,’ सिर्दिवासको फिलिमका सुजन गुरूङले सेतोपाटीसँग भने, ‘सदरमुकाम गोरखा बजारबाट घर आउने त्यही एउटा बाटो थियो, त्यो पनि बूढीगण्डकीले लग्यो।’ 

बूढीगण्डकीको भेलले बाटो बगाउनुअगाडिको फोटो। तस्बिर स्रोत : छाङ लामा

उनकाअनुसार यसपालि बूढीगण्डकीले यारू बगरमा धेरै कटान गरेको छ। यारू बगरको चौर नै कटान गर्दा बाटो बगाइदिएको उनले जानकारी दिए।

मंगलबारदेखि यारू बगर कटान भइरहेको थियो। बुधबार त झन् बाटो नै सिध्याउने गरी बूढीगण्डकीले कटान गरिदियो,’ उनले भने, ‘त्यो बाटोमा पाइला राख्ने ठाउँ पनि बाँकी छैन। पहरासम्म नै भेल पुगेको छ।’

बाटो अवरूद्ध भएपछि सिर्दिवास, प्रोक, ल्हो, सामागाउँ, छेकम्पार र चुम्चेत आउजाउ गर्न समस्या भएको छ।

‘मान्छे आउजाउ गर्न सकिँदैन, खच्चडबाट खाद्यान्न ढुवानी रोकिएको छ,’ उनले भने।

खाद्यान्न अभाव नहोस् भनेर हेलिकप्टरबाट ढुवानी गरिएको छ। हेलिकप्टरबाट बुधबार चार टिप चामल ढुवानी गरिएको उनले बताए। नेपाली सेनाको हेलिकप्टरमार्फत् खाद्य संस्थान सिर्दिवास डिपोमा करिब दुई हजार आठ सय बोरा चामल लगिएको छ।

यो बाटो भएर चुमनुब्री गाउँपालिकाभित्र आउजाउ गर्ने भए पनि बूढीगण्डकीले कटान गरेको क्षेत्र छिमेकी गाउँपालिका धार्चेस्थित वडा नम्बर १ मा पर्छ।

बाटो तत्काल मर्मत हुन सक्ने अवस्था नरहेकाले गाउँलेहरूले दु:ख पाएको सिर्दिवासका अर्का स्थानीय वीरबल घलेले जानकारी दिए।

उनकाअनुसार वैकल्पिक बाटो उहिया हुँदै जाने भए पनि त्यो भिरको बाटो छ भने बिरामी, बुढाबुढी र केटाकेटी त्यो बाटो हिँड्न सक्दैनन्।

‘योजना फर्स्यौट गर्दै भुक्तानी लिनलगायत विभिन्न कामले सदरमुकाम झरेकाहरू गाउँ फर्कन पाएनन्,’ घलेले भने, ‘जहिलेसम्म बूढीगण्डकीले धार परिवर्तन गरेर अर्को किनारा भएर बग्दैन त्यो बेलासम्म बाटो मर्मत गर्न सक्ने अवस्था छैन। सदरमुकाम झरेका गाउँलेहरू ऋणधन गरेर हेलिकप्टर चार्टड गरेर गाउँ फर्कने भनिरहेका छन्।’

बाटो मर्मत गर्न धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरूङसँग समन्वय गर्दै प्रदेश र केन्द्र सरकारलाई पनि जानकारी गराइसकेको चुमनुब्री गाउँपालिका प्रमुख धनबहादुर गुरूङले सेतोपाटीलाई बताए।

‘त्यो बाटो मर्मतका लागि पहल गरिरहेका छौं,’ उनले भने, ‘खच्चड हिँड्न नसक्ने भएकोले खाद्यान्नकै अभाव हुने देखिएपछि हेलिकप्टरबाट ढुवानी गरियो। बूढीगण्डकी कटान रोक्न तारजाली पनि हेलीबाटै ढुवानी गर्नुपरेको छ, यसो गर्दा ढुवानी खर्च नै महंगो परेको छ।’

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button