चार करोडको धार्मिक ग्रन्थ’ भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

बौद्ध धर्मको पुरातात्विक धार्मिक महत्त्वको बहुमूल्य धर्मग्रन्थ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले बुधबार दुई जनालाई काठमाडौं महानगरपालिका वडा नम्बर २२ न्यूरोडबाट पक्राउ गरेको हो।

प्रहरीले  सप्तरी राजविराज नगरपालिका वडा नम्बर ३ का ४७ वर्षीय प्रशान्तप्रताप सिंह र दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ४का ६५ वर्षीय छन्त्याल भन्ने पूर्णबहादुर मगरलाई पक्राउ गरेको हो।

यसरी ठगीमा पाँच जनाको संलग्नता रहेको महाशाखाले जनाएको छ।

रोल्पा लिवाङ नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय बेगम रानामगर, रोल्पा नगरपालिका-८ का ३७ वर्षीय डम्मर पुनमगर र ३७ वर्षीय रामचन्द्र राना मगर फरार छन्।

उनीहरूले चार करोडको धार्मिक ग्रन्थ किन्न लागेको भन्दै पीडितहरूबाट झुक्याएर पैसा लिएका थिए।

उनीहरूले काठमाडौंको इचंगुनारायण बस्ने २८ वर्षीय भीमबहादुर डाँगीलाई चार करोडको पुस्तक किन्न लागेको र पैसा नपुगेको सुनाएका थिए। त्यसरी विश्वासमा लिएपछि डाँगीबाट उनीहरूले तीन लाख ५ हजार रूपैयाँ लिएका थिए।

त्यसरी नै उनीहरूले स्याङ्जा वालिङ नगरपालिका-६ घर भई काठमाडौं-७ सरस्वतीनगर बस्ने ४२ वर्षीय बिष्णुप्रसाद अर्यालबाट १२ लाख रूपैयाँ लिएका थिए।

त्यसरी आफूहरूलाई ठगी गरेको भन्ने जाहेरीपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर टेकु पठाएको छ।

साझालाई बिजुली बस बेच्न ९ कम्पनीले हाले टेण्डर

साझा यातायातले बिजुली बस खरिद गर्न आह्वान गरेको टेण्डरमा नौ चिनियाँ कम्पनी प्रतिस्पर्धामा उत्रिएका छन्।

चाइना मेसिनरी इन्जिनियरिङ, जोङतोङ बस को लिमिटेड, बिवाईडी अटो इन्डस्ट्री, सिएचटिसी किनवीन, नानजिङ गोल्डेन ड्रागन बस को लिमिटेड, जु्रह्वाइ ग्वाङतोङ अटो मोबाइल, एनहुइ एनकेइ अटोमोबाइल, बेइजी फोटोन मोटर कम्पनी र चेरी एण्ड वान्डा कम्पनीले बोलपत्र दिएका हुन्। 

साझाले गत चैतमा ४० वटा विजुली बस खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। सोहीअनुसार नौ चिनियाँ कम्पनीको बोलपत्र परेको साझा यातायातका सञ्चालक भुषण तुलाधरले बताए। 

ती नौ कम्पनीमध्ये सार्वजनिक खरिद नियमावली बमोजिम उपयुक्त कम्पनी छनोट गरिने उनको भनाइ छ।

हामी प्राविधिक पक्षमा पनि सबैभन्दा राम्रो र विदेशमा पनि निर्यात गरिरहेको कम्पनी छनोट गर्छौँ। त्यसका लागि अध्ययन प्रकृया अगाडि बढिसकेको छ। सम्भवतः अब एक हप्ताभित्र छनोट हुन्छ,’ उनले सेतोपाटीसँग भने। 

गुणस्तरसँगै सस्तो मूल्यमा समेत ध्यान दिइ कम्पनी छनोट गरिने तुलाधरले बताए। साझाका अनुसार बसको यात्रु क्षमता बढीमा ५० सिटको रहने छ। लम्बाई नौ मिटर रहने छ। 

बसमा वाइफाई, टिभी, सिसी क्यामेरा लगायत अत्याधुनिक विशेषता रहने उल्लेख छ। २०७५ पुस ९ गते सरकारले साझा यातायातलाई तीन सय बिजुली बस खरिद तथा सञ्चालन गर्न तीन अर्ब रूपैयाँ दिने निर्णय गरेको थियो।

दिइएको बसको ‘स्पेसिफिकेसन’ परिर्वतन गरेको भन्दै गत असोज १ गते लिखित रूपमा मन्त्रालयले खरिद प्रक्रिया अगाडि नबढाउन साझालाई निर्देशन दियो। 

गत माघमा साझा यातायातलाई बिजुली बस खरिद तथा संचालन गर्न दिएको तीन अर्बको ब्याजसहित फिर्ता माग्ने निर्णयसमेत सरकारले गरेको थियो।

सरकारले तीन अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति पनि दिने निर्णय लिएपछि कम्पनीले बस किन्न लागेको हो।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button