गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै , फेरी आयो विज्ञहरू यस्तो चेतावनी
काठमाण्डौ । गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ।
तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला दुई दिनमा त यो २६ प्रतिशतमा उक्लेको छ।
पर्याप्त परीक्षण र खोप अभावसँगसँगै संक्रमण दर अपेक्षित हिसाबले नघट्दा महामारी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। यो सातादेखि राजधानीमा गरिएको आंशिक खुलापनले संक्रमण झन् बढ्न सक्ने विज्ञहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआरमार्फत ७ हजार १ सय ३० जनामा भाइरस परीक्षण भएकोमा २६ प्रतिशतमा संक्रमण देखिएको छ। बुधबार पनि संक्रमण दर २६ प्रतिशत नै थियो।
चिकित्सकका अनुसार हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले समुदायले समयमै परीक्षण गर्नुपर्छ।
तर त्यसो हुन सकेको छैन। टेकु अस्पतालको निर्देशकबाट हालै सेवानिवृत्त सागर राजभण्डारी घरपरिवारका सबै सदस्य संक्रमित हुँदा समेत परीक्षण नभएको देखिएको बताउँछन्। ‘संक्रमण भित्रभित्रै गुम्सिएको छ र त्यही कारणले यो घट्न नसकेको हो,’ उनी भन्छन्।
‘हामीले परीक्षणको दायरा बढाउन सकेका छैनौं। कन्ट्याक्ट ट्रेसिङ अत्यन्त कमजोर छ।
स्थानीय तहको भूमिका कन्ट्याक्ट ट्रेसिङमा अपेक्षित देखिएन,’ उनी भन्छन्। पछिल्ला दिनमा प्रदेश १, वाग्मती र गण्डकीमा संक्रमण अन्यत्रको भन्दा बढी देखिएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी संक्रमण व्यापक रूपमा फैलिएकाले घट्न समय लागेको तर्क गर्छन्। ‘हामीले वैशाखको मध्यभन्दा चैतको मध्यदेखि निषेधाज्ञा जारी गरेको भए संक्रमण धेरै तल झर्न सक्थ्यो तर ढिलो हुँदा यसले व्यापक रूपमा फैलिने मौका पायो,’ उनी तर्क गर्छन्।
देशका विभिन्न स्थानमा बाढीपहिरो आएकाले प्राकृतिक कारणले मानिसको आवतजावत कम हुने हुँदा तत्काल संक्रमण ह्वात्तै नबढे पनि भदौपछि यो फेरि बढ्न सक्ने उनी बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।
आन्तरिकतर्फ हवाई उडान सुरु भएको पहिलो दिन बिहीबार नै ५६ सय यात्रुले लिए सेवा
आन्तरिकतर्फ हवाई उडान सुरु भएको पहिलो दिन बिहीबार पाँच हजार ६ सय एक यात्रुले सेवा लिएका छन्। कोरोना महामारीका कारण ५८ दिन बन्द रहेको खुलेको उडानमार्फत बिहीबार दुई हजार चार सय ३० जना काठमाडौंबाट बाहिरिएका छन् भने तीन हजार एक सय ७० जना काठमाडौं भित्रिएका छन्।
आन्तरिकतर्फ साबिकको तुलनामा ५० प्रतिशत उडान मात्रै सञ्चालन गरिएको छ। बिहीबार ५१ उडानको तालिका थियो। तर मौसम खराब हुँदा भैरहवा, डोल्पा लगायतका आठ उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ।
हवाई सेवा कम्पनीहरूले बिहीबारको उडानमा टिकट बुकिङ उत्साहजनक रहेको जनाएका छन्। पहिलो दिनमै ८० प्रतिशतभन्दा बढी बुकिङ आएको उनीहरूको भनाइ छ।
अन्तर्राष्ट्रितर्फ भने बिहीबार एक कार्गो उडानमात्रै भएको कार्यालयले जनाएको छ। हिमालय एअरलाइन्सले चीनका लागि एउटा कार्गो उडान भर्नेबाहेक यात्रुबाहक उडान नभएको कार्यालयले जनाएको छ।
अन्तर्राष्ट्रियतर्फ शुक्रबारका लागि ६ वटा उडान तालिका छ। महामारीका कारण घरेलुतर्फका नियमित उडान वैशाख २० देखि ठप्प थिए।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ दैनिक ६४ उडान हुने गरी अनुमति दिएको छ। प्राधिकरणले यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एयरलाइन्सलाई दुई, तारा एअरलाई दुई, समिट एअरलाई दुई र सीता एयरलाई दुई गरी दैनिक ६४ उडानको अनुमति दिएको छ। हालको उडान तयारी ट्रंक रुट लक्षित छ।
सामान्य अवस्थामा आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फ दैनिक ६४ उडान हुने गरी अनुमति दिएको छ। प्राधिकरणले यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एयरलाइन्सलाई दुई, तारा एअरलाई दुई, समिट एअरलाई दुई र सीता एयरलाई दुई गरी दैनिक ६४ उडानको अनुमति दिएको छ।
हालको उडान तयारी ट्रंक रुट लक्षित छ। सामान्य अवस्थामा आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो।