‘खरुक घर जाने, घर बस्न नगए, वन जाने, त्यो भन्दा अर्को बाटो संविधानमा छैन : गगन थापा
१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले रामशाहपथबाट परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्ने कांग्रेस कायर भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा शान्ति बाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्ने पार्टीको निर्णय भएको बताए ।
‘बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौं, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो’ उनले अघि भने, ‘पञ्चयतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं भन्छन् भने ती कायर हुन् ।’
अदालतमा विचाराधीन भएको मुद्धामा कांग्रेस बोलेर पुस ५ गतेको संसद विघटन असंवैधानिक हो भनिसकेको उनले बताए । थापाले अघि भने, ‘अब अदालतले यो भन्दा दायाँ बायाँ फैसला गर्दैन भन्ने हाम्रो विश्वास छ, गर्न सक्दैन र मिल्दैन पनि ।’
‘संसदले अदालतको सम्मान राख्यो, अब हामी चाहन्छौं, अदालतले संसदको सम्मान राखोस्’ थापाले भने, ‘हामी श्रीमानहरुलाई भन्न चाहन्छौं, तपाईहरु संविधान पल्टाएर हेरिराख्नु भएको छ, अक्षरहरु पढिराख्नु भएको, हेर्ने त्यही हो । तर संविधानका धाराहरु शून्यबाट आएका होइनन् ।’
आफू दुबै संविधानसभाको सदस्य भएको उल्लेख गर्दै उनले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद भंग गर्न पाउने व्यवस्था नै नगरेको बताए ।
बहुमत प्राप्त प्रधानमन्त्रीलाई सरकार चलाउन मन लागेन भन्ने के गर्ने भन्ने चिन्ता बेलाबेला अदालतमा व्यक्त हुने गरेको भन्दै थापाले भने, ‘खरुक घर जाने, घर बस्न नगए, वन जाने । त्यो भन्दा अर्को बाटो संविधानमा छैन ।’
यदि अहिलेको संसद विघटन सदर हुने हो भने निर्वाचनको अपमान हुने थापाले बताए ।