को हुन् देउवा ? के चाहन्छन् उनी ? आखिर किन यसो गर्न खोज्दैछन?

२०२१ सालतिर काठमाडौंको त्रिचन्द्र कलेजमा अध्ययन गर्न आएका शेरबहादुर देउवा नेविसंघको राजनीतिमा सक्रिय भए ।

नेविसंघ स्थापना पूर्व बीपी कोइरालाद्वारा गठित अर्जुननरसिंह केसी संयोजक रहेको विद्यार्थी भेला आयोजक समितिमा रामचन्द्र पौडेलसँगै देउवा पनि सदस्य थिए ।

२०२८ सालमा नेविसंघको सभापति बनेका देउवा अधिवेशन नगरिकन चार कार्यकाल (८ वर्ष) २०३६ सालसम्म नेविसंघको कुर्सी छोडेनन् ।

२०३४ साल टुँडिखेलको आमभेलामा बीपी कोइरालाले ‘शेरे सुदूरपश्चिम’ भनेपछि त्यो बेला देउवाको खुबै चर्चा भएको थियो ।

बहुदल आउनुअघि नै लाभका पदमा मुख मिठ्याउन खोजेको सुइँको पाएपछि किसुनजीले २०४४ सालतिर देउवालाई छात्रवृत्तिमा लण्डन पढ्न पठाए ।

माघ ५, ६ र ७ गते चाक्सीबारीमा भएको नेपाली काङ्ग्रेसको राष्ट्रिय सम्मेलनले पञ्चायतविरुद्ध लड्ने निर्णय गर्‍यो ।

सर्वोच्च कमान्डर गणेशमान सिंहको नेतृत्वमा भएको संयुक्त जनआन्दोलनले चैत २६ गते देशमा प्रजातन्त्र पुनःस्थापना भयो ।

नेपालमा पञ्चायत विरुद्ध आन्दोलन हुँदा देउवा लण्डनका गल्लीहरूमा भौंतारिरहेका थिए । जन-आन्दोलन सफल भएपछि २०४७ सालमा देउवा लण्डनबाट काठमाडौं ओर्लिए ।

२०४८ को आमचुनावमा देउवाले डडेल्धुराबाट चुनाव जिते । यसैबीच आरजु राणासँग देउवाको विवाह भयो ।

किसुनजीको कोटाबाट गिरिजाबाबु नेतृत्व सरकारमा देउवाले एकैचोटि गृहमन्त्रीको कुर्सी भेटे । नवदम्पतीलाई बधाई दिंदै किसुनजीले भनेका थिए- ‘ल शेरबहादुरजी बधाई छ । हिजोसम्म तपाईं हाम्रो मान्छे हुनुहुन्थ्यो । अबदेखि आरजुको हुनुभयो ।’

त्यसपछि उनको निकटता दरबारसँग बढ्यो । २०५१ सालमा कांग्रेसकै दुई सांसदले असहयोग गरेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार ढल्यो । त्यसपछि मध्यावधि निर्वाचन घोषणा भयो ।

देउवा गृहमन्त्री हुँदा भएको आमनिर्वाचनमा कांग्रेसलाई एमालेले उछिन्यो । २०४८ सालमा ११० सिट जितेको कांग्रेस २०५१ को मध्यावधि चुनावमा ८३ सिटमा खुम्चियो । ८८ सिट जितेर एमाले पहिलो पार्टी बन्यो ।

आफ्नो कारणले पार्टीको जनमत कमजोर भएको नैतिकता देखाएर गिरिजाबाबुले दलको नेतामा उम्मेदवारी दिएनन् । समकक्षी रामचन्द्र र शैलजालाई उछिनेर देउवा नै संसदीय दलको नेता बने ।

सर्वोच्च अदालतले २०५२ भदौ १२ गते मनमोहन अधिकारी नेतृत्व सरकारले सिफारशस गरेको संसद विघटन खारेज गरिदियो ।

२०५२ साल भदौ २७ गते ५२ जनाको जम्बो मन्त्रिपरिषद् सहित पहिलोपटक प्रमको कुर्सीमा पुगे देउवा ।

झन्डै १८ महीना प्रमको कुर्सीमा बसेका देउवाले ६-६ महीनामा मन्त्रिपरिषद पुनर्गठन गर्दै गए ।

देउवाकै कार्यकालमा सरकार टिकाउन सांसद किनबेच गर्ने,  होटलमा थुन्ने,  मन्त्रीलाई बैंकक पठाउने समेत काम भए ।

उनको प्रधानमन्त्रीत्व कालमा पञ्चलाई सरकारमा ल्याउनेदेखि सुरासुन्दरी, प्राडो काण्ड,  रातो पासपोर्ट र सुत्केरी भत्ता जस्ता संसदीय विकृति जन्मिए ।

यी सबै विकृतिको शिकार बन्यो नेपाली कांग्रेस । कोइराला परिवारले सधैं अघि बढाउने तिनै देउवाले पोखराको १०औं महाधिवेशनमा पहिलोपटक गिरिजाबाबुलाई नै नेतृत्वका लागि चुनौती दिए ।

२०५८ सालको रोल्पाको होलेरी काण्डलाई लिएर गिरिजाबाबुले प्रम पदबाट राजीनामा दिए । गिरिजाबाबुपछि देउवा नै प्रम बने । हुनै नसक्ने चुनाव गराउँछु भनेर २०५९ जेठ ९ गते मध्यराति देउवा राजदरबार छिरेर संसद विघटन गरिदिए ।

एक्लै यस्तो निर्णय गर्ने जिद्दी स्वभावका देउवालाई पार्टीले अनुशासनको कारबाही गर्‍यो ।

कोइरालासँग रिसाएका राजा ज्ञानेन्द्रको इशारामा रुख चिन्हलाई धारे हात हाल्दै २०५९ साल असारमा देउवाले पार्टी नै फुटाए ।

२०५९ असोज १८ गते उनै राजाले देउवालाई अक्षम प्रधानमन्त्री भन्दै किक् आउट गरे । निर्वाचित प्रमलाई बर्खास्त गरेकोमा राजाको चौतर्फी विरोध भयो ।

राजाको असंवैधानिक कदमको विरोध गर्ने देउवासँग नैतिकता नै नभएपछि उनी लुरुक्क सिंहदरबार छोडेर बूढानीलकण्ठतिर लागे ।

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले प्रजातन्त्रको ‘कु’ गरे ।

पार्टीका नेताहरूलाई ठेगान लगाउन शाही आयोग गठन गरे । २०६१ जेठ २९ मा राजाले प्रधानमन्त्री बन्न फेरि देउवालाई नै बोलाए ।

गोर्खाली राजाबाट न्याय पाएँ भनेर फुर्किंदै देउवा प्रधानमन्त्री बन्न नारायणहिटी छिरे ।

२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले राज्यसत्ता आफ्नो हातमा लिंदै देउवालाई फेरि सत्ताच्यूत गरे ।

प्रधानमन्त्री बनेको ८ महीनामै बालुवाटार छोडेर देउवा बूढानीलकण्ठतिर फर्के । पार्टी एकीकरणको नाममा ६०-४० को भागबन्डासहित गिरिजाबाबुले देउवालाई रातो कार्पेट ओछ्याएर स्वागत गरे ।

गिरिजाबाबुले देउवाप्रति देखाएको त्यो उदारता अहिले आएर पार्टी हितकर देखिएन ।

आफू प्रधानमन्त्री बन्न देउवाले एकल निर्णय गरेर भरतपुर मेयरको चुनावी टिकट रेणु दाहाललाई दिए । प्रचण्ड खुशी भएर प्रमको कुर्सी देउवालाई छोडिदिए । २०७४ जेठमा इतिहासकै सबैभन्दा ठूलो ६४ सदस्यीय जम्बो मन्त्रीहरूको लिस्ट सहित देउवा प्रम निवास बालुवाटार छिरे ।

जनतामा कमजोर देउवा नेतृत्व काङ्ग्रेस भन्दा ओली नेतृत्व एमालेमा भविष्य देखेर प्रचण्ड उतैतिर बसाइ सरे ।

बल्ल काङ्ग्रेस नेतृत्व जिल्ल पर्‍यो ।

देउवा आफैंले गराएको २०७४ को आमचुनावमा नेपाली काङ्ग्रेस थला पर्यो । २०४८ देखि २०७७ सालसम्म हेर्ने हो भने सरकार वा पार्टीको नेतृत्वमा देउवा पुग्दा लोकतन्त्र र काङ्ग्रेस कमजोर भएको इतिहास छ ।

सभापति देउवा पार्टीको विधानअनुसार चल्दैनन् । विधानलाई नै उनले आफू अनुकूल चलाइदिन्छन् ।

देउवा अहिले कामचलाउ सभापतिको हैसियतमा छन् । शिक्षक संघ र ट्रेड युनियनको गएको अधिवेशनमा देउवा निकट उम्मेदवारहरू पत्तासाप हुने गरी पराजित भए ।

यहींबाट तर्सिएका देउवाले आफ्नु अनुकूल नदेखेपछि लाखौंको संख्यामा परिचालन हुने नेविसंघ र नेपाल तरुण दललाई सानो घेराभित्र सीमित गराइदिए । पौडेल र सिटौलाले भाग पाएपछि उनैलाई साथ दिए ।

देउवाको पार्टी नेतृत्व राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै असफल देखियो । पार्टीभित्रको प्रतिपक्ष कमजोर हुँदा पार्टीको हरेक निर्णयमा देउवा बलियो छन् ।

निर्वाचित सांसद र निर्वाचित केन्द्रीय सदस्यहरूको संख्या हेर्ने हो भने देउवा अल्पमतमै छन् ।

तर बन्दसूचीका सांसदहरूले गर्दा संसदीय दलमा र मनोनीत सदस्यहरूको कारणले केन्द्रीय कमिटीमा देउवाको बहुमत छ । बहुमत जिल्ला सभापतिहरू, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरू देउवाको पक्षमा छैनन् ।

केन्द्रीय बैठकमा चुनावको समीक्षा गर्न र नेतृत्वमाथि नैतिकताको प्रश्न उठाउन खोज्ने नेतालाई प्रचण्ड भन्दा पर धकेल्न खोज्छन् देउवा । देउवा आफ्ना विरोधीलाई ठेगान लगाउन धेरै सिपालु छन् ।

झापाको युवा ठिटोलाई पार्टी प्रवक्ता नियुक्ति गरेर पार्टीभित्र शीघ्र अधिवेशन खोज्नेहरूलाई नियमित अधिवेशन नै गराउन नसक्ने बनाइदिए । देउवाको भाग्य बलियो छ । रामभक्त हनुमान जस्तै  विश्वासिलो पाए पार्टी प्रवक्ता ।

२०७४ को आमचुनावपछि हावाले पनि हल्लाउन खोज्ने देउवाको कुर्सी अहिले पार्टी प्रवक्ताले गर्दा भूकम्पले पनि नहल्लाउने भयो । आफूलाई अप्ठयारो पर्दा बेला मौकामा डा. शशांक, पौडेल र सिटौलालाई समेत हातमा लिन सक्ने खुबी छ देउवासँग । देउवाले अवसरवादको खेती गर्न रुचाउने, लोभमा आशक्त हुने नेताहरूलाई सधैं आफ्नो वरिपरि राख्न रुचाउँछन् ।

भोगको राजनीतिमा रमाउन खोज्ने देउवा प्रमको लागि कहिले राजासँग मिल्छन् । कहिले छेपारोले जस्तो बेला बेलामा रङ्ग फेर्ने प्रचण्डको साथ लिएर प्रधानमन्त्रीको कुर्सीमा पुग्छन् ।

नैतिकता र जिम्मेवारी बिर्सिएर प्रतिपक्षी दलको नेता हुँदा देउवा राति-राति प्रम निवास बालुवाटार छिर्न पनि लाज मानेनन् । निवर्तमान प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाको मित्रता विश्वमै उदाहरणीय बनेको थियो ।

अब उनीहरू बीचको सम्बन्ध कस्तो हुन्छ हेर्न बाँकी नै छ । काङ्ग्रेस सभापति देउवाको यही कमजोरीको फाइदा उठाउँदै प्रम ओलीले संघीय संसदलाई पञ्चायत व्यवस्था जस्तो बनाएका थिए ।

आफू २५ वर्षको उमेरमा नेविसंघका सभापति भएका देउवाले अहिले ५० वर्ष उमेरलाई नेविसंघको सभापति बनाउन उनको नैतिकताले रोकेन । गएको महाधिवेशनमा देउवालाई साथ दिने केन्द्रीय नेताहरू अहिले उनको कार्यशैलीबाट पूरै रुष्ट छन् ।

उनको टिमभित्र पनि ठूलै असन्तुष्टिहरू बढ्दै गएको छ। देउवा निरन्तर पार्टीको सर्वशक्तिमान सभापति पदमा रहिरहन चाहन्छन् । देउवा सत्ता र शक्तिको लागि जेसुकै गर्न तयार हुने नेता भएको उनकै निकटतमहरू बताउँछन‍् ।

सत्ता र शक्ति प्राप्त गर्न जान्ने राजनीतिक खेलाडी हुन् देउवा । उनले जुनसुकै विधिबाट पनि सत्ता र शक्ति प्राप्त गर्न जानेका छन् ।

देउवाले आफ्नो मनपरी तन्त्रलाई वैधानिकता दिने गरी व्याख्या गर्न, पार्टीभित्र उनलाई बलियो बनाउन र आफ्नो रक्षाकवचको काम गर्न प्रवक्ताको भरपुर सहयोग लिएका छन् ।

देउवा निकट विमलेन्द्र निधि आफैंले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै गर्दा देउवालाई अर्को तनाव बढ्न थालेको छ । सभापतिको कुर्सीमा बसिरहनका लागि देउवासँग आसन्न महाधिवेशन छल्नु बाहेक अर्को विकल्प पनि देखिंदैन ।

(लेखक गणेशमान सिंह स्मृति पुस्तकालय रुपन्देहीका अध्यक्ष हुन् )

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button