केपीजी अब आँखा खोल्नुहोस् भ्रमबाट मुक्त हुनुहोस्’: माधवकुमार नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई भ्रमबाट मुक्त भएर आँखा खोल्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको खुशीयालीमा चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा विघटन गलत भएको कुरा सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएपछि उनले ओलीलाई अब भ्रमबाट मुक्त हुन सुझाव दिएका हुन् । ‘केपीजी अब आँखा खोल्नुहोस्, भ्रमबाट मुक्त हुनुहोस्’, उनले भने ।
अब देश उज्यालोमा फर्किएको र सत्यको जित भएको उनको भनाइ छ । उनले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षमा रहेका नेपाली जनतालाई अभिवादन गर्दै सर्वोच्च अदलतका न्यायाधीशलाई धन्यवाद दिए ।
‘हामी उज्यालोमा फर्किएका छौँ । सत्यको जित भयो । न्यायको जित भयो । नेपाली जनताको जित भयो ।
बहादुर नेपाली जनतालाई हार्दिकहार्दिक क्रान्तिकारी लालसलाम भन्छु’, नेता नेपालले भने, ‘सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश, उनको बेन्चमा रहेका चारैजना न्यायाधीश र अधिवक्तालाई धन्यवाद ।’
संविधानको सर्वोच्चतालाई अदालतले जोगाएको भन्दै यसका लागि साथ दिने राजनीतिक दल, नागरिक समाजलाईसमेत नेपालले धन्यवाद दिए ।