काठमाडौंवासीका लागि खुसीको खबर, सरकारले जारि गर्यो सूचना

महामारी विरुद्धको पहिलो खोप लगाउन छुटेका ५० वर्षमाथिका नागरिकका लागि काठमाडौं महानगरपालिकामा आजदेखि पुनः भेरोसेल खोप लगाउन शुरु गरिएकोे छ ।

खोप कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ ।

यसका लागि ३२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरिएको छ । महानगरका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरका अनुसार सबै वडाबाट बिहान १० बजेदेखि नै खोप कार्यक्रम शुरु भइसकेको र साँझ ५ः०० बजेसम्म जारी रहनेछ ।

खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक प्रमाणपत्र लिएर आउनुपर्ने र ती प्रमाणपत्र नभएका व्यक्तिले सम्बन्धित वडाको सिफारिस ल्याउनुपर्ने उहाँले बताउनुभयो । दुबै र पहिलो पटकमात्र गरी हालसम्म करिब तीन लाख नगरवासीले खोप लगाइसकेका छन् ।

यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरीद गरेर ६० लाख भेरोसेल खोप आगामी भदौ मसान्तसम्म र भारतबाट खरीद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो साता नेपाल आइपुग्ने तालिका छ ।

यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोन्सन एण्ड जोन्सन र सिनोभ्याक गरी करीब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

उहाँले बालबालिका लागि लगाउने खोप खरीदको प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । सरकारको आगामी असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।

चालू आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड रकम कोरोना भाइरसविरुद्धको खोपका लागि रु २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

झापामा सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु, दश पालिकामा सिलबन्दी

झापामा पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताउनुभयो । झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।

यस्तै कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ ।

मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो ।

पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्क्रमण बढिरहेको पालिकाले नै आवश्यकतानुरूप सिलबन्दीको निर्णय गर्नसक्ने बताउनुभयो ।

“जिल्ला कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको सहमतिमै पालिका तहमा सिलबन्दी गर्न थालिएको हो”, प्रजिअ तिम्सिनाले भन्नुभयो, “सर्वसाधारण, व्यवसायी र पेशाकर्मीहरु सबैलाई सिलबन्दी र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अपिल गरिएको छ ।”

सिलबन्दीको अवधिमा अत्यावश्यक सूचीका सवारी साधनबाहेक सबै यातायातका साधनको आवतजावतलाई रोक लगाइएको, बजार बन्द गरिएको र सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध गरिएको बिर्तामोडका नगरप्रमुख ध्रुव शिवाकोटीले बताउनुभयो ।

झापामा विगत दुई सातादेखि कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ । बजार र सरकारी कार्यालयहरुमा सर्वसाधारणको घुइँचो बढेको थियो ।

हरेक पालिकाले सात दिनको अवधि तोकेर सिलबन्दीको घोषणा गरेका छन् । राजमार्गबाहेक भित्री सडकमा सार्वजनिक तथा निजी यातायातका साधन गुडेका छैनन् ।

कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्ति आफैँ सचेत हुनुपर्नेमा लापरवाही गरिरहेका कारण सङ्क्रमितको दर बढ्दै गएको पालिकाहरुको ठहर छ ।

सामान्य स्वास्थ्य मापदण्डसमेत पालना नगरी सर्वसाधारणहरु बिनाकाम घुम्ने गरेको पाइएपछि सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यम र माइकिङ गरेर सचेतना अपनाउन आग्रह गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button