ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ: कांग्रेस नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको अर्को प्रहार भनेका छन् ।
सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन स्थगित गरेकी छन् ।
नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयाससमेत जारी राखेको पनि बताए । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजित कार्यक्रममा उनले सरकारको प्रेस स्वतन्त्रताविरोधी कदमको प्रतिवाद गर्नुपर्ने बताए । ‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ’ उनले भने ।
फरक प्रसङ्गमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसीन भएको बताए । ‘सरकारले राजनैतिक, र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ ।
यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन’ उनले भने, ‘यो सरकारले विकास निमार्णका काम केही नगर्ने तर जनतामा विकास भएको भ्रम सिर्जना गरिरहेको छ ।’
नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।
यो पनि,,,अन्नपूर्णमा हराएको भनिएका रसियन पर्वतारोही सम्पर्कमा आए
अन्नपूर्ण आरोहणका क्रममा हराएको भनिएका तीन रसियन नागरिक सम्पर्कमा आएका छन् । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार ती पर्वतारोही हराएको नभई आधार शिविरमा ढिला आइपुगेका थिए ।
‘उनीहरु हराएका होइनन्, बेस क्याम्पमा ढिला आइपुगेका हुन्,’ उनले भनिन् ।’
यसअघि सोमबार बिहान तीन रसियन नागरिक अन्नपूर्ण आरोहणका क्रममा हराएको खबर सार्वजनिक भएको थियो । अन्नपूर्ण हिमाल आरोहणका लागि यो वर्ष कुल ४ समूहका ४४ जनाले अनुमति लिएका थिए । यी सबै विदेशी नागरिक हुन् ।
उनीहरुको साथमा पुगेका हाइअल्टिच्युड वर्कर तथा गाइडहरु समेत गरी दर्जनौं आरोही अन्नपूर्ण चुचुरो पुगेका छन् । यद्यपि यसको यकिन तथ्यांक नआइसकेको आचार्यले जानकारी गराइन् ।
उनका अनुसार प्रारम्भिक तथ्यांक अनुसार अनुमति लिएकामध्ये २९ जना आरोही चुचुरो पुगेको खबर छ । यसबारे त्यहाँ खटिएका सम्पर्क अधिकृतले प्रमाणित गरेपछि मात्र संख्या यकिन हुने छ ।