‘ओली पार्टीको निम्ति एउटा कलंक भए : माधव नेपाल
९ माघ, काठमाडौं । प्रचण्ड-नेपाल समूहको नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेकपाको सदस्यसमेत बन्न लायक नभएको बताएका छन्।
आफूपक्षीय समूहको बिहिबार सुर्खेतमा भएको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको निर्देशिका नमानेकोले केपी ओली पार्टी सदस्यसमेत बन्न लायक नभएको प्रतिक्रिया दिएका हुन्।
‘जो व्यक्ति पार्टीको निर्देशिका मान्दैनन्, पार्टीको बैठक भन्ने वित्तिकै उसको निधारबाट पसिना बग्छ। त्यस्तो व्यक्ति यो पार्टीको अध्यक्ष बन्न लायक कसरी हुन्छ?,’ नेपालले प्रश्न गरे , ‘जुन मान्छेले पार्टीलाई टेर्दैन, त्यस्तो मान्छे कार्यकर्ता बन्नसमेत लायक हुँदैन।’
अध्यक्ष नेपालले ओलीले आफ्नो निजी स्वार्थ पूरा गर्न संसद विघटन गरेको आरोप लगाए। ‘केपी ओलीले मुलुक परिवर्तन गर्लान् भन्ने आशा थियो, नेकपाको शीर ठाडो पार्छन् भन्ने ठानेका थियौं,’ उनले भने, ‘तर नितान्त आफ्नो स्वार्थका निमित्त पार्टीका नेताप्रति बदलाको भावना राखेर सिंगो मुलुकलाई ठूलो संकटमा पुर्याउन प्रतिनिधि सभा विघटन गरेका छन्।’
प्रधामन्त्री ओलीको असंवैधानिक कदमलाई लिएर देश/विदेशमा आलोचना भईरहेको उनले स्मरण गराए। मुलुकमा प्रत्येक राम्रो मान्छे केपी ओलीको पक्षमा नरहेकोसमेत नेता नेपालले दाबी गरे।
‘समाजका सबै तहका मान्छेहरु ओलीको कदमलाई संविधान विरोधी भनिरहेका छन्,’ नेता नेपालले भने,’ ‘ओली पार्टीको निम्ति एउटा कलंक भए, उनले विधिको शासन मिचेका छन्। त्यसैले सिंगो देश आन्दोलित छ।’
नेपालले ओलीलाई नेकपा एमाले बनाउने श्रेय कतिपयले दिनु गलत भएको समेत बताए। ‘अहिले चर्चा चलिरहेको छ, माधव नेपाल प्रचण्डको कार्यकर्ता हुन पुगे भनेर। पूर्वएमाले एक हुनुपर्छ भनेर भन्नुुहुन्छ,’ नेपालले भने, ‘केपी ओली कहिले भए एमाले? यो पार्टी बनाउने माधव नेपाल हो कि, केपी ओली हो?’