ओली नेतृत्वको सरकार जंगली हो : ‘प्रचण्ड’

२१माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली नेतृत्वको सरकारले जंगलीराज सुरु गरेको बताएका छन् ।

 बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान ओली नेतृत्वको सरकारका कामकारवाही हेर्दा जंगलीराजको सुरु भएको आभास भएको बताएका हुन् । 

‘हिजो हामीले जनताको पक्षमा आन्दोलन गर्दा हामीलाई जंगली भन्थे । तरपनि हामी त जनताकै घरदैलोमा थियौँ, तर आज ओली नेतृत्वको सरकारचाहिँ जंगली राजमा चलेको छ’, प्रचण्डको भनाइ छ । 
उनले बहिर्गमित जनमुक्ति सेनालाई केपी शर्मा ओली पक्षले भेडाबाख्रा जस्तै किनबेच गर्न खोजेको पनि बताए । 

उनले ओलीले अहिले जनमुक्ति सेनालाई माया गरेजस्तो गरेर मुटुमा छुरा रोप्न खोजेको दावी पनि गरे । ‘मुटुमा छुरा रोपेजस्तो भएको छ । अपमानित र बद्नाम गर्ने टिमले हाम्रा योद्धाहरुलाई माया गरेर भनेको हो त ? होइन’, अध्यक्ष प्रचण्डको भनाइ छ । 

उनले रगतको नाता ठुलो हुन्छ भनिएजस्तै दलीय र युद्ध संघर्षको नाता त्यो भन्दा ठुलो हुने बताए । ‘यसरी अपमान गर्नेहरुले यो गर्छु र त्यो गर्छु भनेर हुन्छ ? यो सबै षड्यन्त्र र जालझेल हो’, प्रचण्डको भनाइ छ ।

प्रचण्डले प्रतिगमन,प्रतिक्रान्तिका विरुद्ध र संविधानको रक्षाका लागि सडकमा आएको भन्दै संविधानको रक्षा नै अहिलेको आवश्यकता रहेकाले आफू अहिले फेरि सडकमा आएको बताए । 

‘मैले हिम्मत हारेको छैन । पहिला त हामीले १० वर्ष लडेका हौँ । तर अहिले पर्दैन । १० महिना पनि पर्दैन ।

हामीले जित्छौँ र जित्नैपर्छ’, आन्दोलनमा फेरि सहभागी हुन आग्रह गर्दै प्रचण्डले सरकारले अहिले जे मनलाग्यो त्यही गरिरहेको बताए । 

उनले जनमुक्ति सेनाका समस्याबारे आफू सचेत रहेको भन्दै अब आफ्नो लागि नभई मुलकमा समाजवादका लागि जीवन बिताउने बताए ।

‘म दुई पटक प्रधानमन्त्री भएँ, तर म एक्लै प्रधानमन्त्री भइनँ, पहिलो चोटी एमाले र दोस्रो चोटी काँग्रेसको साथमा प्रधानमन्त्री भएँ तर त्यसबेला सहयात्रीले खुट्टा झिक्दा ढलिहाल्ने स्थिति थियो’, उनले भने ।

त्यतिबेला जनमुक्ति सेनाहरुलाई राहत, सम्मान र जागिर दिन मन लागेपनि नसकेको प्रचण्डको भनाइ छ 

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button