ओलीले लडाइँ हारिसके, कुपात्रका रूपमा इतिहासमा कलंकित भए : प्रचण्ड
७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले युद्ध हारेको बताएका छन्।
मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको कार्यक्रममा बोल्दै प्रचण्डले अब ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिए।
उनले अहिलेको प्रतिनिधि सभा विघटन संविधान विघटनको सुरूवात भएको बताएका ।
‘प्रतिनिधि सभा विघटनको सिफारिसमा राजा/महाराजा गन्ध आएको छ। निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरू भएको छ,’ उनले भने।
आफूले जनआन्दोलन, मधेश आन्दोलन जस्ता कुराको नेतृत्व गर्दै संघीयतासहितका परिवर्तन ल्याएको उल्लेख गर्दै अहिले तिनको हत्या हुन खोज्दा आक्रोश उत्पन भएको बताए।
प्रधानमन्त्री ओलीले ठगी धन्दा गरेको पनि प्रचण्डले आरोप लगाए।
‘प्रधानमन्त्री बन्न जे पनि गर्नुभयो। आलोपालो प्रधानमन्त्री हुने सहमति भएकै हो। तर उहाँले कार्यान्वयन गर्नु भएन,’ उनले भने,’पछि ठगीधन्दा गर्नुभयो।’
ओलीले लडाइँ हारिसकेको र कुपात्रका रूपमा इतिहासमा कलंकित भएर रहने प्रचण्डको भनाइ छ।
‘प्रतिनिधि सभा विघटनपछि तपाईंको हातमा केही छैन। चिजहरू अन्तै छ,’ उनले भने,‘ मलाई सर्वोच्च र निर्वाचन आयोगप्रति भरोसा छ।’
उनले केपी ओलीका मान्छेहरू नै सूर्य चिन्ह हाम्रो हो र सबैतिर सेटिङ भइसकेकाले संसद विघटन सदर हुन्छ भन्दै हिँडेकाले प्रश्न जन्मिएको बताए।
‘मेरो प्रश्न अदालत र आयोगप्रति होइन केपी गुटलाई हो- यस्तो किन भइरहेको छ?’ उनले भने।