ओलीले आज ठुलो निर्णय लिंदै, राजनीतिमा उथलपुथलको सम्भावना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पूर्व निर्धारित बैठक विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लंघनको कारवाही बारे छलफल हुने उहाँले बताउनुभयो ।

एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशन विपरित गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।

आजको बैठकले के निर्णय गर्छ सबैको चासो छ । एक नेताका अनुसार ओलीले आज ठुलै निर्णय लिन सक्नुहुने छ ।

त्यस्तै, आजको बैठकमा पार्टीको विधान महाधिवेशनको विषयमा पनि छलफल हुने पार्टी कार्यालय सचिव तामाङले बताउनुभयो । उहाँकाअनुसार यही साउन २५ मा हुन गइरहेको विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।

आजको बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खवर गरिएको भए पनि बैठकमा आउने नआउनेबारे खवर नआएको उहाँले बताउनुभयो ।

पार्टी एकतालाई सुदृढ बनाउने अभियान जारी रहेको भन्दै हिजो विघटित कार्यदलका सदस्यहरुले प्रधानमन्त्री देउवालाई भोट नदिएर पार्टी एकताको पक्षमा रहेको सन्देश दिनुभएको थियो ।

उपाध्यक्ष भीमबहादुर रावल भने पदबाट नै राजिनामा दिनुभयो ।

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ।

नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्।

अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए भने १० जना तटस्थ बसेका थिए।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा दुवैतिर खटपट उत्पन्न हुँदा ओली र नेपाल दुवैलाई घाटा भएको छ।

नेपाल समूहका सांसदले पार्टी नेतृत्वलाई एकताका लागि दबाब दिने भन्दै संसद् भवनबाट बाहिरिएको बताए पनि ओली समूहका सांसदले पार्टीको ह्विप उल्लंघनबारे केही बताएका छैनन्।

ओली समूहमा रहेका सांसद हीरा केसी, पार्वती विशुंखे, कलिला खातुन, बिना बुढाथोकी, धनबहादुर बुढा, समिना हुसेन, प्रेम आले र किसान श्रेष्ठले देउवालाई विश्वासको मत दिएका थिए।

आइतबार बसेको स्थायी कमिटी बैठकले जस्तोसुकै परिस्थितिमा पनि देउवालाई समर्थन नगर्ने निर्णय गरेको थियो। बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा नरहनेसमेत बताएका थिए।

उनले नेता नेपालले जसरी पनि देउवालाई मत दिने बताएको जानकारीसमेत गराएका थिए। ​यो समाचार नागरिक दैनिकमा छ

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button