एसिड छ्याप्न हुने, अध्यादेश ल्याउन नहुने ?: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुन: स्थापना भएपछि आफूले मुद्दा हारे पनि अदालतको आदेशलाई मान्ने बताएका छन्।
उनले संसदमा देशका समस्या समाधान कसरी गर्ने त्यसमा छलफल गर्नुपर्ने धारणा राखे।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसद् बैठकको पहिलो दिन नै पुनःस्थापनाको माग गर्नेहरु छाडेर हिडेको भन्दै आश्चर्य व्यक्त गरे।
‘यतिबेला देश चुनावमा गइसक्थ्यो। त्यसपछि राम्रो संसद बन्थ्यो। संसद् किन पुनःस्थापना गरेकोभन्दा त लडाइँ गर्न कराउन पो गरेका रहेछन्। ’ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उनले भने,‘उहाँहरू माननीयको कुर्सीमा बस्नुभएको छ। तर, बोल्ने भाषा सुन्यो भने माननीयको जस्तो हुँदैन।’
संसद् अवरोध गरेर एसिड आक्रमणविरुद्धको सरकारले पेश गर्न लागेको अध्यादेश रोकेकोमा असन्तुष्ट जनाए। ‘के बिग्रियोभन्दा एसिड आक्रमणविरुद्धको अध्यादेश सरकारले टेबल गर्न आँट्यो। फेल गरे भइगो नि सक्छौ भने। फेल गर्ने आँट कसैको छ ? छैन। मन पनि परेको छैन, फेल गर्ने आँट पनि छैन। त्यसकारण वेल घेरेर अध्यादेश पेश गर्न पाइँदैन भनेर नाराबाजी।’
उनले मुस्कान खातुन लगायत पीडितका कुरा सुनेपछि कडा कानुनको आवश्यकता महसुस गरेर एसिड आक्रमणविरुद्ध अध्यादेश ल्याइएको बताए। विलम्ब नगरिकन संवैधानिक बाटोबाट अध्यादेश ल्याइएको बताउँदै ओलीले प्रश्न गरे,‘एसिड छ्याप्न हुने, अध्यादेश ल्याउन नहुने ?’
प्रधानमन्त्री कुन पार्टीको हो भन्ने भीम रावलको प्रश्नमा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतमामा सोध्न जानु भन्दै व्यङ्य गरे। उनले भने, ‘म हिजो बोलिनँ उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी हो ? भनेर सोध्नुभयो। मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको भनेर।’