आजैदेखि हामी प्रण गरौँ हामी नेताका लागि सडकमा जादैनौँ :उत्सब नरसिंह केसी

राजनीति देश र जनतासँग प्रत्यक्ष रुपमा सम्बन्धित हुने विषय भएकोले यसमा सदैव आम जनमानसको अभिरुचि रहदै आएको छ।नेपालको राजनीतिक परिवेशलाई नजिकबाट नियालेर हेर्दा यहाँ राजनीतिक अस्थिरता पृथ्वीनारायण शाह देखि जंगबहादुर हुँदै हालसम्म आइपुगेको छ।

सत्ता र पदका निम्ति छोराले बुवालाई,भाइले दाइलाई मरणासन्नसम्म पुर्याएको घटना कुनै नौलो भने होइन। राजनीतिको पछिल्लो इतिहास हेर्ने हो भने यो २०४६ सालदेखि अति नै अराजक र अस्थिर रहदै आएको देखिन्छ।हाल नेपालको राजनीति अस्थिर मात्र नभइ ज्यादै अनिश्चित पनि देखिएको छ।

हुन त यो कुनै नवीन विषय पनि होइन।विगतमा नेपालको राजनीति कुनै विशेष राजनीतिक मुद्दाहरुले अस्थिर हुन्थ्यो तर वर्तमान परिपाटीमा देखिएको राजनीतिक अस्थिरता कुनै जनसरोकारको मुद्दा नभएर केही नेताहरुको सत्ता मोह,टकराव वा व्यक्तित्वको संकटले गर्दा उत्पन्न भएको हो,कुर्सीका निम्ति भएको हो।हालको अस्थिरता जनहितको लागि होइन भने प्रसंग पनि घाम झै छर्लङ्ग छ।

राजनीतिक अस्थिरताको एक असफल राज्यको अवधारणासँग नजिकको सम्बन्ध हुन्छ।नेपालको संवेदनशील भूराजनीतिक स्थिति र आन्तरिक राजनीतिक शक्तिहरुबिच उत्पन्न भइरहने शक्ति संघर्ष यहाँको अस्थिरताको मुख्य कारण रहेको विषय हामी सबैलाई सर्वविदित नै छ।साथै राजनीतिमा दृश्य शक्तिभन्दा अदृश्य रुपमा क्रियाशील शक्तिहरु निर्णायक हुन्छन्।विभिन्न विद्वानहरु शेक्सपियर (Hamlet), चाणक्य(अर्थशास्त्र) लगायतले आफ्नो पुस्तकमा यस विषयमा थप प्रकाश पारेका छन्।

नेपालको सन्दर्भमा अदृश्य र अनेक प्रकारका शक्तिले विविध समयमा निर्णेताको भुमिका खेलेको विषय पनि नौलो होइन। वी.पी.कोइरालाले भन्नुभएको थियो,”संविधान एउटा कागजको खेस्रा हो।

“साच्चै उहाँले भन्नुभएको सत्य रहेछ।अहिले यस खेस्रालाई यहाँका राजनीतिक दलहरूले खोस्टा सरि च्यातिरहेका छन्।संविधानले प्रदान गरेको आधारभूत सेवा-सुविधाहरु नपाउँदा जनतामा निराशा र असन्तुष्टि बढेको छ।साथै जनताको आर्थिक/सामाजिक रुपान्तरण र विकास निर्माणका काममा तिनै तहका सरकार असफल भएकोले ” स्थिरता आफैमा अस्थिरताको कारक” बनेको छ।

आम मानिसको मानसिकतामा देशमा बहुमत त्यसमा पनि दुई-तिहाइ प्राप्त गरे मात्र देश विकास र स्थिरताको बाटोमा अघि बढ्छ भन्ने छ।तर यो सत् प्रतिशत गलत सिद्ध भएको छ।

नेदरल्यान्डमा सन् १९१८ देखि,नर्वेमा सन् १९६१ देखि र लोकतन्त्रको जननी मानिने बेलायतमा सन् २०१०-२०१५ सम्म संयुक्त सरकार नै थियो।तत्पश्चात पनि त्यहाँको स्थायित्वले विकास र समृद्धिको गतिमा फड्को मारेको थियो। यदि सरकारले आफ्नो जनसंख्यालाई आधारभूत सेवाहरुको सुनिश्चितता गर्न सक्दैन भने त्यसले कानुन लागू गर्ने शक्ति गुमाउँछ र राजनीतिक अस्थिरता उत्पन्न हुन्छ।

तर नेपालको वर्तमान स्थितिलाई गम्भीरतापूर्वक नियालेर हेर्ने हो भने झन्डै लगभग दुई-तिहाइको सरकारले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनको बाटोतर्फ संमुख भएर स्थायित्व र विकासलाई तिलाञ्जली दियो।यस सन्दर्भलाई म हिटलर,जंगबहादुर र रानी राजेन्द्र राज्यलक्ष्मीसँग जोडेर हेर्ने गरेको छु।

जसरी जंगबहादुरले रानी राजेन्द्र राज्यलक्ष्मीको संरक्षकत्वमा कोत पर्व मच्चाएको र हिटलरले जर्मनको संसद BUNDESTAG मा आगो लगाएको थियो त्यस्तै विद्ययमान समयमा सरकारले राष्ट्रपति संस्थाको संरक्षणमा जनताको आवाजको थलो संसदमाथि पटकपटक आक्रमण गरी देशलाई एउटा अनिश्चयको यात्रा,संकटको भुमरी वा कालो सुरुङ्ग(Black Tunnel)तर्फ धकेलि रहेको विषय हाम्रो मानसपटलमा ताजै छ।

राजनीतिमा इमानदारिता,नैतिकता,नीतिगतता र अनुशासन भन्ने कुरा कुन चराको नाम हो भन्ने अवस्था छ।दलहरुको गुटगत र स्वार्थ केन्द्रीत राजनीतिले राजनीतिक वातावरण पहिलेभन्दा थप ध्रुवीकृत भएको छ।नेताहरु आफ्नो अलिकति पनि आलोचनात्मक टिप्पणी सुन्न तयार नहुने अनि लोकतान्त्रिक संरचनासँगै चल्न छाडेर आफ्नो शक्ति सञ्चयका लागि अलोकतान्त्रिक र फासीवादको बाटोतर्फ उन्मुख हुनुले देश र जनताले सधै कष्ट सहेका छन्।

अब आजैदेखि हामी प्रण गरौँ हामी नेताका लागि सडकमा जादैनौँ।नेताहरूकै निम्ति सडकमा गइरहने हो भने हाम्रो मुलुक अफगानिस्तान,सोमालिया जस्तो बन्न कुनै समय लाग्दैन।

नेताहरुको अहंमले देश बिग्रेको उदाहरण हामी माझ प्रशस्तै छन्।तसर्थ हामीले आजैदेखि नेता होइन नितिलाई प्राथमिकता दिन्छु,व्यक्ति होइन विधि/विधान/विचार प्रदान हुनुपर्छ,शक्ति होइन सत्यलाई साथ दिन्छु भनेर भीष्म प्रतिज्ञा गर्नु अति आवश्यक छ।साथै राजनीतिक दलहरूले पनि एक अर्का विरुद्ध संघर्ष होइन समन्वय गर्नुपर्छ र प्रणाली होइन प्रवृत्ति सही हुनुपर्छ भन्ने कुराको हेक्का राख्नुपर्छ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button