अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् : प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओली ठगी धन्दामा लागेको बताएका छन् ।

बुधबार ओलीको प्रतिगामी कदमको विरोधमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीले माधव नेपाल र आफु लगायतका धेरै नेताहरुलाई झुठ कुरा गरेर र ढाँटेर गल्ती गरेको बताए ।

उनले ओलीको प्रतिगामी कदम पछिको अवस्था सर्वोच्च अदालत र न्यायाधीशहरुले समेत हेरेको भन्दै सर्वोच्च अदालतले न्याय, संविधान र लोकतन्त्रको पक्षमा फैसला गर्ने विश्वास रहेको बताए । 

‘लाखौं जनताको उपस्थिति सर्वोच्च अदालतका न्यायाधीशले पनि राम्रोसँग देख्नुभएको छ । जनताले के चाहेका छन्, यो जनभावनालाई हेर्नुभएको छ र ढिलो नगरी लोकतन्त्र र संविधानको पक्षमा फैसला दिनुहुनेछ’ प्रचण्डको भनाई छ ।

उनले जनताको भावनाविपरित केही काम गरियो भने दूर्भाग्य हुने चेतावनी पनि दिए । ‘शान्तिपूर्ण आन्दोलन विद्रोहमा गयो भने के हुन्छ ?’ प्रचण्डको प्रश्न छ । 

उनले आफुहरु कानुनी राज्यको मान्यतामा दृढ रहेको भन्दै त्यसैका लागि नयाँ संविधान बनाइएको बताए ।  ‘नेपालको लागि कस्तो संविधान बनायो भने राजनीतिक स्थयित्व र जनताको हित हुन्छ भनेर बनाइएको हो ।

यदि त्यसो भएन भने आँधी आउँछ हुरी चल्छ’ प्रचण्डको चेतावनी छ । प्रचण्डले ओलीलाई चेतावनी दिँदै भने, ‘म केपीलाई भन्छु–अर्को पटक १० लाख जनता लिएर सिंहदरवार र बालुवाटार घेर्नुनपरोस् ।’ 

उनले केपीले भूमिसम्बन्धी आयोग बनाएर षड्यन्त्र गरेपनि त्यसले माखो नमार्ने बताए । ‘म तपाईंहरुको अगाडि फेरि एक पटक प्रतिज्ञा, संकल्प फेरि दोहोर्याउन चाहान्छु ।

मेरो जीवन र मेरो समकक्षी नेताको जीवनमा यो देशलाई सुन्दर, शान्त र विशाल, विकसित र सम्मृद्ध बनाउनुबाहेक हाम्रो कुनै सपना छँदैछैन, हुनै सक्दैन’ प्रचण्डको भनाई छ । उनले बाँकी रहेको जीवन प्रधानमन्त्री र कुर्सीका लागि नभई जनताका लागि समर्पित गर्ने बताए ।

उनले केपी ओलीले निर्वाचन आयोगलाई धम्की दिएको भन्दै आयोगका केही मानिस अलि डराएको बताए । ‘तर लक्षण निर्वाचन आयोगले राम्रो देखाएको छैन ।

७० प्रतिशत हाम्रो पक्षमा छ तर ओलीले धम्क्याउँदैमा तपाईंहरुको पनि खुट्टी देखियो । ढाई सय वर्ष पुरानो सामन्ती सासन फाल्ने केपी ओली होइन, खेलाची नठाने हुन्छ । देशलाई दुःख दिने काम कसैले गर्नुहुदैन ।

निर्वाचन आयोग खुट्टा नकमाउ, ठगी धन्दाको पछि नलाग’ प्रचण्डले आयोगलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button