अरुको जस्तो बाले राजनीति गर्ने, छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ? रेणु दाहाल
९ माघ, काठमाडौं । भरतपुर महानगरकी मेयर रेणु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति पटकपटक व्यक्तिगत प्रहार गरी राजनैतिक हिंसा गरेको आरोप लगाएकी छिन् ।
प्रधानमन्त्री ओलीले बोलेको कुरामा मेयर दाहालले आपत्ति जनाएकी छिन् । आफ्ना चाहानाहरु सबै त्यागेर जनताको हितमा लडेको भन्दै उनले लेखेकी छिन्, ‘व्यक्तिगत स्वार्थमा कहिल्यै लागिएन, सेवामा समर्पित हुनु कमजोरी हो ? अरुको जस्तो बाले राजनीति गर्ने र छोराछोरीले फाइदा लिएर लुट्नु पर्ने हो ?’
उनले मत्रपत्र च्यातेर मेयर बनेको भनाइप्रति पनि आपत्ति जनाएकी छिन् । २९ वटा वडामध्ये एउटा वडामा मात्रै त्यस्तो घटना घटेको त्यो दुर्घटनाले आफूलाई दुखित बनाएको भन्दै उनले आफूले २९ वटै वडाका जनताको अभिमतले जितेको बताएकी छिन् ।
प्रधानमन्त्रीले चाहिँ ३ करोड जनताको मत च्यातेर संविधान भन्दा आफू माथि ठानेको आरोप समेत उनले लगाएकी छन् । उनले लेखेकी छन्, ‘आफू ३ करोड नेपाली जनताको मत च्यातचुत गर्ने र तानाशाही शासक बन्दै संबिधान कानुनभन्दा माथि ठान्ने यो के हो ?’