अब प्रचण्डको माओबादी केन्द्रमा फर्किन सम्भव छैन : नेता रायमाझी
सर्वोच्च अदालतले पूर्ववत पार्टी कायम रहने गरी कट्टेलको पार्टीलाई मन्यता दिएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माओवादी केन्द्र र केपी ओलीले नेकपा एमाले पाउने भएका हुन् ।
यसै क्रममा उर्जामन्त्रीसमेत रहेका ओली पक्षमा लागेका पूर्वमाओवादी नेता तथा टोपबहादुर रायमाझीले आफू अदालतको फैसला अनुसार तत्काल माओवादी केन्द्रमा फर्किन सम्भव नरहेको प्रतिक्रिया दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग बोल्दै रायमाझीले भने, ‘अदालतको फैसलाको सम्मान गर्छौं, यसलाई कसरी लिने भन्ने कुरा हुँदैन ।’
तपाईं माओवादीमै फर्किनुहुन्छ त भन्ने अर्को प्रश्नको जवाफ दिँदै रायमाझीले भने, ‘अहिले तत्काल त्यो सम्भावना छैन ।’
आइतवार अपराह्न सर्वोच्च अदालतले नेकपाको नाममा परेको विवादमा फैसला सुनाएको थियो । आधिकारिक नेकपा ऋषि कट्टेलको नेतृत्वमा रहेको दलको नाम हुने र सत्तारूढ नेकपा विभाजन पहिलाको स्थितिमा पुग्ने भन्दै अदालतले फैसला सुनाएको हो ।